काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधिबीच नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नु परेका कठिनाइ, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा हिजो बिहीबार आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यावसायिक वातावरण, कोभिडपछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा केन्द्रित भएर छलफल भएको हो ।
आईएमएफका प्रतिनिधिसँग चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको वर्तमान समस्यालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आएकाले निजी क्षेत्रमा आशा पलाएको बताए । उनले भने, ‘सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र निजी क्षेत्रले दिएका सुझावका आधारमा नै आगामी अर्थिक वर्षको बजेट ल्याएको छ । बजेट समग्रमा सन्तुलित छ । कार्यान्वयनको पाटो प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छौँ ।’
६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी ल्याइएको बजेटको लक्ष्य पूरा गर्नका लागि सोहीअनुसारको सहजीकरण हुने गरी मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
कोभिड–१९ पछि अङ्गीकार गरिएका सङ्कुचित नीतिहरूका कारण निजी क्षेत्रले धेरै ठूलो क्षति बेहोर्नु परेको र वर्तमान आर्थिक शिथिलताको कारण पनि सोही नीतिहरू नै रहेको अध्यक्ष अग्रवालले बताए । मुलुकको अर्थतन्त्र केही दबाबमा रहे पनि आगामी बजेटको प्रभावकारी कार्यन्वयन हुन सके अधिकांश समस्या सम्बोधन हुनेमा आफूहरू विश्वस्त रहेको अध्यक्ष अग्रवालले बताए ।
नेपालमा प्रचुर सम्भावना भएको भन्दै अध्यक्ष अग्रवालले उपयुक्त आर्थिक नीतिहरू अङ्गीकार गरिए उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने अध्यक्ष बताए ।
आईएमएफ मिसन चिफ डा. सर्वात जाहान नेतृत्वको प्रतिनिधिमण्डललले चेम्बर पदाधिकारीहरूसँगको भेटमा नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नु परेका समस्या, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
FACEBOOK COMMENTS