काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले अन्तर्राष्ट्रिय बजारमा नेपाली स्टार्टअपको पहुँच र वैदेशिक मुद्रा आर्जनको लागि काठमाडौंमा क्षेत्रीय नवप्रवर्तन केन्द्र स्थापना गर्नुपर्ने बताएकी छन् ।
आज शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले नेपाली स्टार्टअपको पहुँच र विदेशी मुद्रा आर्जन गर्न नवप्रवर्तन केन्द्र स्थापना गर्नुपर्ने बताएकी हुन् ।
हाल नेपालमा ५०० भन्दा बढी स्टार्टअप दर्ता भइसकेको र सन् २०३० सम्म १० हजार स्टार्टअप र एक सय भन्दा बढी युनीकर्न कम्पनी दर्ता हुने र ५० हजार भन्दा बढी रोजगारी सिर्जना हुने अनुमान रहेको उनको भनाइ छ । यस्ता लक्ष्यहरू हासिल गर्न एन्जल इन्भेस्टर्स, भेन्चर क्यापिटल, क्राउडफन्डिङ, प्राइभेट इक्विटी जस्ता आधुनिक लगानी मोडेलको उपस्थिति आवश्यक रहेको उनले बताइन् ।
सरकारले च्यालेन्ज फन्ड वा सीड फन्ड स्थापना गरी उत्प्रेरकको भूमिका खेल्नुपर्नेमा पनि उनले जोड दिएकी छिन् । सांसद शाक्यले सामाजिक र वातावरणीय प्रभाव पार्ने व्यवसायमा लगानी प्रवर्द्धन गर्न इमप्याक्ट इन्भेष्टिङको अवधारणा लागू गर्नुपर्ने बताउँदै यसको सफल कार्यान्वयनको लागि मेन्टरसीप नेटवर्क, सहकार्य, स्थान, डिजिटल साक्षरता, उद्यमशीलता, तालिम र नेतृत्व विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरिन् ।
उनले सबै वित्तीय संस्थाहरूले अनिवार्य रूपमा केही निश्चित प्रतिशत भेन्चर क्यापिटलमा लगानी गर्नुपर्ने व्यवस्थाबारे बजेटमा सम्बोधन हुन आवश्यक रहेको पनि बताएकी छिन् ।
FACEBOOK COMMENTS