काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौताको बारेमा अमेरिका र चीनका नेताहरूबीच भएको भेटवार्ताको बारेमा जानकारी दिएका छन् ।
ट्रम्पले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रीरले आगामी सोमबार लन्डनमा चिनियाँ प्रतिनिधिहरूसँग भेट गर्ने र भेटवार्तामा व्यापार सम्झौताबारे छलफल हुने बताएका छन् ।
यस भेटघाटको घोषणा हुनुभन्दा अघि शुक्रबार डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच व्यापारका बारेमा फोन वार्ता भएको थियो । सो फोन कलपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चीन भ्रमणको योजना बनाइरहेको बताएका थिए । उनले सी चिनफिङलाई अमेरिका आउन आमन्त्रित गरेको पनि बताए ।
यस वर्षको फेब्रुअरीमा ट्रम्पले धेरै देशहरूमा कर लगाए, तर सबैभन्दा बढी कर चीनबाट आउने सामानहरूमा लगाइयो । प्रतिक्रियामा चीनले पनि अमेरिकी सामानहरूमा भारी कर लगायो, जसले दुई देशहरूबीचको व्यापार युद्धलाई अझ गहिरो बनायो । त्यसपछि मे महिनामा दुवै देशले व्यापार सम्झौताको सम्बन्धमा जेनेभामा बैठक गरे ।
यस व्यापार सम्झौताअन्तर्गत अमेरिकाले चीनबाट आयात हुने सामानहरूमा लाग्ने कर १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झार्यो । यस्तै, चीनले अमेरिकी सामानहरूमा लगाइएको कर १२५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि विवाद तत्कालका लागि मत्थर भएको छ ।
FACEBOOK COMMENTS