काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीविरुद्ध बैंगलुरुको भागदौड प्रकरणमा प्रहरीमा उजुरी पेस भएको छ ।
सामाजिक कार्यकर्ता एचएम वेङ्कटेशले दुर्घटनाको लागि कोहलीलाई दोष दिँदै उजुरी दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । आरसीबीले पहिलो पटक आईपिएल उपाधि जितेपछि बुधबार विजयी उत्सव मनाउने क्रममा चिन्नास्वामी स्टेडियमबाहिर भएको भागदौडका क्रममा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।
मिडिया रिपोर्टका अनुसार सामाजिक कार्यकर्ता वेङ्कटेशको उजुरीमा कोहलीविरुद्ध हाल कुनै एफआईआर दर्ता भने भएको छैन ।
यसअघि भेणु नामक एक पीडितले कब्बन पार्क प्रहरी स्टेशनमा आरसीबी र कर्नाटक राज्य क्रिकेट सङ्घविरुद्ध एफआईआर दर्ता गरेकी थिइन् र भागदौडको लागि उनीहरूलाई दोषी ठहराएको थियो ।
यसअघि कर्नाटक प्रहरीले बिहीबार आरसीबी कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्ट प्रालि र केएससीएविरुद्ध एफआईआर दर्ता गरेको थियो । त्यसपछि कर्नाटक राज्य क्रिकेट सङ्घले उच्च अदालतमा पुगेर चिन्नास्वामी स्टेडियम भागदौड मुद्दामा दर्ता गरिएको एफआईआर खारेज गर्न अदालतलाई आग्रह गरेको थियो । केएससीएलाई कर्नाटक उच्च अदालतबाट ठूलो राहत मिल्यो । मुद्दाको सुनुवाइ गर्दै अदालतले राज्य क्रिकेट सङ्घका अधिकारीहरूविरुद्धको दण्डात्मक कारबाहीमा रोक लगायो ।
यस घटनामा आरसीबी र कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अधिकारीहरूलाई पक्राउ गरेर बयान लिने काम भइरहेको छ । पक्राउ पर्नेमा आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निकिल सोसाले, डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका सुनील म्याथ्यू र किरण कुमार रहेका छन् ।
विराटविरुद्ध सामाजिक सञ्जालमा पनि फ्यानहरूले आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा #ArrestKohli ट्रेन्ड गरिरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विराटजस्ता सिनियर खेलाडीले फ्यानको संवेदनशीलतालाई नबुझेको, स्टेडियमबाहिर फ्यानहरू मरिरहँदा स्टेडियमभित्र जितको खुसी मनाइरहेको भन्दै आलोचना गरिरहेका छन् ।
विराट भागदौडको एक दिनपछि बिहीबार मुम्बई विमानस्थलमा श्रीमती अनुष्का शर्मासँग देखिएका थिए । यसपछि विराटको अनलाइनमा तीव्र आलोचनाको सामना गर्नुपरेको छ । घटना भएको एक दिनपछि विराट यति चाँडै निस्कनु असंवेदनशील भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS