काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले आयोजक स्कटल्याण्डको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेदेखि सुरू हुँदै छ ।
नेपालले यस सिरिजमा यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेर सानदार सुरूआत गरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने नेदरल्याण्ड्सविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै, यस सिरिजमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।
नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै, एक खेलको नतिजा आएको छैन ।
हाल लिग–२ को अङ्क तालिकामा नेपाल १४ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ । नेपालले १४ खेलमा ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ र २ खेलको नतिजा आएको छैन ।
त्यस्तै स्कटल्याण्डको १८ खेलमा २२ अङ्क छ र हाल चौथो स्थानमा छ ।
FACEBOOK COMMENTS