काठमाडौं। ग्लोबल आइएमई बैंकको नेतृत्वमा ताप्लेजुङ जिल्लास्थित माथिल्लो मेवा खोला जलविद्युत् आयोजनामा लगानीका लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौता भएको छ ।
बैंक र कम्पनीबीच वित्तीय व्यवस्थापन तथा लगानी सम्बन्धी सम्झौता ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीको उपस्थितिमा सम्पन्न भएको हो ।
३१ दशमलव ९२ मेगावाट क्षमताको यो आयोजना प्रवद्र्धन सौर्य होल्डिङ प्रालिले गरिरहेको छ। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकको अगुवाइमा लक्ष्मी सनराइज बैंकको सहभागिता रहेको कन्सोर्टियमले आयोजनामा ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ। फाइनान्सियल क्लोजर सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर (सीबीओ) कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका सीबीओ मनिशराज कुँवर र सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंकका सीईओ रेग्मीले आयोजनाले निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न भई राष्ट्रिय ऊर्जा उत्पादनमा योगदान पुर्याउने र भविष्यमा विद्युत् निर्यात प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
६ अर्ब ३७ करोड रुपैयाँ अनुमानित लागत रहेको उक्त जलविद्युत् आयोजना निर्माण सुरु भएको मितिबाट तीन वर्षभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ। सम्झौताअनुसार कुल लागतको ७५ प्रतिशत कर्जा बैंक कन्सोर्टियमबाट लगानी गरिनेछ भने बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद शेयरबाट उठाएको पूँजीबाट लगानी गर्नेछ ।
ग्लोबल आइएमई बैंक हाल मुलुकको ७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक हो । हाल बैंकका ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, र तीन वटा अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिइरहेको छ ।
बैंकले अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न सम्मान हासिल गरेको छ। हालै मात्रै बैंकले ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको हो ।
नेपाली नागरिकहरूलाई वित्तीय सेवा प्रदान गर्नुका साथै, ग्लोबल आइएमई बैंक अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS