काठमाडौं । सुनचाँदी व्यवसायीहरूले देशभर सुन कारोबार ठप्प पारेकाका छन् ।
शुक्रबारयता कारोबार ठप्प पार्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य निर्धारणसमेत रोकेको छ । जसका कारण आज आइतबार सुनचाँदीको नयाँ मूल्य निर्धारण गरिएको छैन ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा दुई प्रतिशत विलासिता कर र हिरा तथा रत्नहरूमा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेपछि व्यवसायीहरू आन्दोलित बनेका छन् ।
देशभरका सुनचाँदी पसल बन्द भएपछि मूल्य निर्धारणको कुनै अर्थ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले बताए । ‘देशभरका सुनचाँदी पसल बन्द भएपछि आज हामीले मूल्य निर्धारण नगरेका हौँ,’ उपाध्यक्ष शाक्यले भने, ‘सम्बन्धित निकायहरूसँग वार्ता र छलफल निरन्तर भइरहेको छ । त्यसबाट समाधान ननिस्केसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’
बजेट सार्वजनिक भएदेखि नै व्यवसायीहरूले प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सरोकारवाला संस्था र व्यक्तिहरूको ध्यानाकर्षण गराउँदै आन्दोलनसमेत गर्दै आएका छन् । तर, उनीहरूको सो आवाज सुनुवाई नगरी आगामी आर्थिक वर्षको बजेट पारित भएर कानुन बनिसकेको अवस्था छ । तै पनि उनीहरू आफ्नो एजेण्डाबाट पछि हटेका छैनन् ।
कसरी हुन्छ सुनको मूल्य निर्धारण ?
मूल रूपमा न्युयोर्क एक्सचेञ्जको कारोबार दर तथा भारत र दुबईको मूल्य प्रवृत्तिलाई ध्यानमा राखेर मूल्य निर्धारण समितिले मूल्य तय गर्छ । नेपाली समयअनुसार बिहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ ।
सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन गरिन्छ । यसरी आएको गुणनफलमा प्रतिग्राम सरकारले लिने ८५० रुपैयाँ भन्सार जोडिन्छ । त्यसपछिको मूल्यमा १ प्रतिशत ह्यान्डलिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोड्ने गरिन्छ । त्यो मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्छन् ।
यस्तो थियो शुक्रबारको मूल्य
सुनको मूल्य शुक्रबार तोलामा दुई हजार ९०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँ कायम गरिएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १६५ रुपैयाँ कायम भएको थियो ।
FACEBOOK COMMENTS