काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सुनमा लगाइएको विलासिता कर नयाँ नभएको बताएका छन् ।
विनियोजन विधेयक, २०८२ माथि राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिनेक्रममा उनले सुनमा लगाइएको दुई प्रतिशत कर नयाँ नभइ पुरानै भएको बताएका हुन् । उनले यसअघि १० लाख रुपैयाँ भन्दा माथिको कारोबारमा लाग्दै आएको करलाई सबै कारोबारमा लागू गरिएको स्पष्ट पारे ।
‘पहिले पनि १० लाख रुपैयाँ भन्दा माथिको कारोबारमा दुई प्रतिशत विलासिता कर लाग्दै आएको थियो । अहिले त्यसमा लगाइएको सीमा (थ्रेसहोल्ड) हटाइएको मात्र हो,’ अर्थमन्त्री पौडेलले भने, ‘चर्चा हुँदा विलासिता कर भर्खर सुरू गरिएको हो कि जस्तोगरी गरियो, त्यस्तो होइन थ्रेसहोल्ड हटाइएको हो ।’
सरकारले आर्थिक विधेयक २०८० मार्फत् सुन र चाँदीमा ५० प्रतिशतले भन्सार वृद्धि गरेको थियो भने १० लाख भन्दा बढी मूल्यको सुनचाँदी खरिद गर्दा २ प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेको थियो ।
मन्त्री पौडेलको भनाइ जस्ताकोत्यस्तै–
सुनको विलासी करको सम्बन्धमा थप स्पष्ट के गर्न चाहान्छु भने विलासिता कर भनेर अहिले लगाइएको होइन । माननीयज्यूहरूसँग मेरो हार्दिकतापूर्ण अनुरोध छ यो अहिले लगाइएको विलासिता कर होइन । जम्माजम्मी १० लाखको थ्रेसहोल्ड हटाइएको मात्रै हो ।
चर्चा हुँदा विलासिता कर भर्खर सुरू गरिएको हो कि जस्तोगरी गरियो, त्यस्तो होइन थ्रेसहोल्ड हटाइएको हो । समस्या के पर्यो भने जस्तो: १० लाख रुपैयाँको कारोबार भएको छ वा १५ लाखको भएको छ तीनवटा बिल बनायो भने त कहिल्यै मिट नहुने भो । त्यस खालको प्राक्टिशलाई सम्बोधन गर्नका लागि यो व्यवस्था गर्नुपरेको हो ।
नेपालीलाई सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने छ । सुनको कारोबार सरोकारको एउटा महत्त्वपूर्ण विषय हो । त्यस सन्दर्भमा यो कुरा गरिएको छ । तथापी यो कर प्रस्तावको बारेमा जे कुरा सार्वजनिक भनाइहरू छन् त्यो भनाइ म सुन्न तत्पर रहने छु ।
FACEBOOK COMMENTS