काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेता हुनका लागि राजनीतिज्ञ बन्न् आवश्यक नहुने टिप्पणी गरेका छन् । नेता चुनाव जितेर नभई नतिजामुखी काम गरेर भइने भन्दै उनले राजनीतिज्ञहरू मात्रै नेता हुन् भन्ने भाष्य गलत रहेको तर्क गरे ।
बिहीबार काठमाडौंको सोल्टी होटेलमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ प्राप्त गरेपछि मन्तव्य व्यक्त गर्ने क्रममा उनले हरेक तह र तप्कामा नेताको आवश्यकता हुने औंल्याए । अहिलेको समस्या नै सही नेतृत्वको अभाव रहेको र यसका लागि घर–घरमा नेता जन्मिनुपर्ने बताए ।
‘हामीले एउटा डिक्टेटर नेता खोजेको होइन । हामीलाई धेरै नेता चाहिन्छ, हरेक संस्थाको नेता चाहिन्छ । हामीसँग अहिलेको समस्या भनेको नेतृत्वको अभाव हो । सही नेतृत्वको अभावले हामी अगाडि बढ्न सकिरहेका छैनौं,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘हामी नेता भनेको को हो भन्नेमै स्पष्ट छैनौं । राजनीति गर्नेजतिलाई जस्तोसुकै काम गरे पनि नेता नै भनिरहनुपर्ने, अरूलाई जतिसुकै ठूलो काम गरे पनि कर्मचारी मातहतका भनिरहनुपर्ने । यस्तो होइन, हामीले नेताको परिभाषा बदल्नुपर्छ । नेता राजनीतिज्ञ हुन जरुरी छैन ।’
उनले कुनै व्यक्तिले कुन क्षेत्रमा कति समय काम गर्यो भन्दा पनि के काम गर्यो भन्ने विषय महत्त्वपूर्ण हुने बताए । काममा प्रस्तुति दिने हरेक व्यक्ति नेता रहेको उनको भनाइ छ ।
‘हामीले कुन क्षेत्रमा कति समय बितायौं, कति उमेरसम्म काम गर्यौं, कतिपल्ट के भयौं, त्यो हाम्रो मूल्याङ्कनको आधार हुन सक्दैन । थोरै होस् वा धेरै, गरेको काम के नि ?,’ उनले भने, ‘काममा उत्कृष्ट प्रस्तुति दिन सक्यौं वा सकेनौं भनेर हेर्ने हो । परिवर्तनका यति धेरै प्रयासहरू हुँदाहुँदै पनि नतिजा के हो भन्न सकेनौं भने बुझ्नुपदर्छ कि हामी अफ्ठेरोमा छौं ।’
नेतामा स्पष्ट भिजन, मिशन, कार्यदक्षता, चेतना र बुद्धिमत्ताका साथै देशको इतिहास, भूगोल, अर्थतन्त्र, संस्कृति र कानुनको बृहत् ज्ञान हुनुपर्नेमा उनको जोड छ । जिम्मेवारीमा रहँदा गरेको काम के हो, ती विषय स्पष्ट भन्न सक्ने नेता आजको आवश्यकता रहेको उनले बताए ।
नेतामा नेतृत्व सीप हुनुपर्ने र त्यसका लागि यससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बताए ।
पूर्वप्रधान्यायाधीश श्रेष्ठको भनाइ जस्ताको तस्तै–
हामीले एउटा डिक्टेटर नेता खोजेको होइन । हामीलाई धेरै नेता चाहिन्छ, हरेक संस्थाको नेता चाहिन्छ । हामीसँग अहिलेको समस्या भनेको नेतृत्वको अभाव हो । सही नेतृत्वको अभावले हामी अगाडि बढ्न सकिरहेका छैनौं । हामी नेता भनेको को हो भन्नेमै स्पष्ट छैनौं । राजनीति गर्नेजतिलाई जस्तोसुकै काम गरे पनि नेता नै भनिरहनुपर्ने, अरूलाई जतिसुकै ठूलो काम गरे पनि कर्मचारी मातहतका भनिरहनुपर्ने । यस्तो होइन, हामीले नेताको परिभाषा बदल्नुपर्छ ।
नेता राजनीतिज्ञ हुन जरुरी छैन । नेता हुनलाई कुनै सरकारी अख्तियार प्रयोग गर्ने व्यक्ति नै हुनुपर्छ भन्ने छैन । नेता हुन चुनाव जितेर आउनुपर्छ भन्ने छैन । र, जन्मँदै कोही नेता हुन्छ भन्ने पनि होइन । केन्द्रीयस्तरमा मात्र नेता हुन्छन् भन्ने पनि होइन । वडा तहदेखि केन्द्रसम्म नेता हुन्छन् । हामीलाई एउटा नेता होइन, हरेक अङ्ग, हरेक कार्यालय, हरेक शाखा, हेक विभागमा नेता चाहिएको छ ।
नेता खोज्दैमा पाइने कुरा होइन । नेता बन्न नेतृत्व सीप चाहिन्छ । यसका लागि नेतृत्व विकाससम्बन्धी कार्यक्रम हुनुपर्छ । सरकारले होस् वा तपाईं–हामी मिलेर, नेतृत्व विकासका कार्यक्रम गर्नुपर्छ । स्पष्ट भिजन, मिशन, भ्याल्यू, काम गर्ने क्षमता, पर्याप्त चेत र बुद्धिमत्ता नभएकाहरू नेता हुन सक्दैनन् । नेतामा देशको इतिहास, भूगोल, अर्थतन्त्र, संस्कृति, कानुनको बृहत् ज्ञान हुनुपर्छ । नेता यहाँ वा त्यहाँ होइन, तपाईं–हामीबाटै घर–घरमा जन्मिनुपर्छ । हामीलाई जिम्मेवारीमा रहँदा गरेको काम के हो, त्यो स्पष्ट भन्न सक्ने नेता चाहिएको छ ।
याे पनि पढ्नुहाेस्–
नेपालको अर्थतन्त्रको विकासमा साल्ट ट्रेडिङ निरन्तर क्रियाशील छ : अध्यक्ष श्रेष्ठ
FACEBOOK COMMENTS