काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आगामी साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीका अनुसार तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाँउपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरूले ५ लाख ६६ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, विदेशमा रोजगारी गरिरहेका नेपालीहरूले ५ लाख २९ हजार ४०० कित्ता शेयर खरिद गर्न पाउनेछन् ।
स्थानीय बासिन्दाहरूले छिटोमा साउन २० गतेसम्म र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने विदेशवासी नेपालीहरूले साउन ९ देखि साउन २० गतेसम्म आवेदन दिन पाउनेछन् । स्थानीय र विदेशवासी नेपालीहरूमा शेयर बाँडफाँट पूरा भएपछि मात्र सर्वसाधारणलाई आईपीओ उपलब्ध गराइनेछ ।
स्थानीय बासिन्दाहरूले बन्दीपुर गाँउपालिका वडा नं. ४ स्थित कम्पनी कार्यालय, आँबुखैरेनी गाँउपालिका कार्यालय, भानु नगरपालिका वडा नं. १ कार्यालय र पालुङटार नगरपालिका वडा नं. ७ कार्यालयबाट प्रत्यक्ष रूपमा आवेदन दिन सक्नेछन् । विदेशवासी नेपालीहरूले भने सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा ‘मेरोशेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङले यस आईपीओको बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ । केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।
FACEBOOK COMMENTS