काठमाडाैं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले सबै जीवन बीमा तथा लघुजीवन बीमा कम्पनीहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा अब नवीकरण बीमाशुल्क र म्यादी जीवन बीमाशुल्क समेत अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जारी परिपत्रमार्फत प्राधिकरणले कम्पनीहरूले मातहतका कर्मचारी, शाखा, उपशाखा, प्रादेशिक कार्यालय तथा विभागहरूलाई मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक व्यवसायिक लक्ष्य निर्धारण गर्दा अब केवल प्रथम बीमाशुल्कमा मात्रै केन्द्रित नभई नवीकरण र म्यादी बीमाशुल्क पनि लक्ष्यको अभिन्न अङ्ग हुनुपर्ने स्पष्ट पारेको छ।
बीमाशुल्क सङ्कलनमा केन्द्रित रणनीतिका कारण गुणस्तरीय बीमा सेवा प्रभावित, न्यून आय भएका वर्गसम्म पहुँच नपुगेको, बीमाको अवधि पूरा नहुँदै बीमालेख समर्पण हुने वा स्वतः निष्क्रिय हुने समस्या देखिएको, र सावधिक तथा एकल बीमालेखहरू मात्रलाई प्राथमिकता दिइएको गुनासाहरू प्राधिकरणमा निरन्तर आइरहेको पृष्ठभूमिमा यस्तो निर्देशन जारी गरिएको हो।
प्राधिकरणका अनुसार बीमा कम्पनीहरूले अबदेखि छोटो अवधिका म्यादी बीमा योजनाहरूलाई पनि लक्ष्य निर्धारणमा समावेश गरी, बीमा सुरक्षाको पहुँच विस्तार गर्नुपर्ने, बीमा पुनःनवीकरण प्रवर्धन गर्नुपर्ने, र दीर्घकालीन बीमा सम्बन्ध सुदृढ गर्नुपर्ने आवश्यकता रहेको छ।
यो निर्देशनले वास्तविक बीमा सेवा प्रवाहमा सुधार ल्याउने, कम्पनीहरूको व्यवसायिक संरचना अझ सन्तुलित बनाउने, र समावेशी बीमा नीतिलाई कार्यान्वयनमा ल्याउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल बीमा प्राधिकरणले नियामकको हैसियतमा कम्पनीहरूमाथि नियमित अनुगमन तथा मूल्याङ्कन गर्दै आएको छ र निर्देशित लक्ष्यहरू कार्यान्वयन नगरेमा नियामकीय कारबाहीसमेत गर्न सक्ने संकेत दिएको छ।
FACEBOOK COMMENTS