काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, सङ्घर्ष, प्रेम र धोकाको विषय छ ।
विवाहको दृश्यसँगै सुरू हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोँक र काठमाडौं आइपुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ । कोरिया जान्छु भनेर काठमाडौं आएका विजय काठमाडौंमै अलमलमा पर्दा कसरी सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा देखाइएको छ ।
सामान्य जानकारीसमेत नलिई तय गरिएको गन्तव्यमा पुग्न कति कठिन छ भन्ने तथ्य टिजरले उजागर गरेको छ । परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्र कसरी आफैँ घनघोर दुःखको दुष्चक्रमा फसेको छ भन्नेबारे टिजरमा देखाइएको छ । यही मेसोमा बस्ने प्रेम र त्यसको सुख टिजरमा देख्न सकिन्छ । टिजरमा चलचित्रका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराज सापकोटालगायतलाई देख्न सकिन्छ ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका छन् । यो चलचित्र भदौ ६ गते रिलिज हुनेछ । चलचित्रको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । बलियो लाइनअप देखिएको चलचित्रमा विजय, केकी, मिरुना, भोलाराज र सुशाङ्कसँग रियर राई, भावना खपाङ्गीमगर, रूपेश लामा, सुमन थापा लगायतको अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिम्सििना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डीसी र जेम्स महाराजन छन् । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको सङ्गीत छ ।
नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको चलचित्रमा दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनिल क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्शन निर्देशन, लक्ष्मण पौडेलेको निर्माण नियन्त्रण छ ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को वितरणको जिम्मा गोविन्द शाहीको काफिया चलचित्रले लिएको छ । अल टाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो । विजयले सोमबार ‘पूर्णबहादुरको सारङ्गी’ बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र अवार्डसमेत पाएका छन् ।
वि.सं. २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को मुख्य भूमिकामा सँगै देखिँदै छन् । यसैगरी, आफ्नै टिमको हिस्सा बनेका मुख्य कलाकार र सम्पादकले सोमबार राष्ट्रपति निवास महाराजगञ्जमा आयोजित समारोहमा उत्कृष्ट अभिनेता र उत्कृष्ट सम्पादनको राष्ट्रिय चलचित्र अवार्ड पाएपछि ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिमले हिजै विजय बराल र भरत रेग्मीलाई सम्मान पनि गरेको छ ।
हेर्नुहोस् टिजर–
FACEBOOK COMMENTS