काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको हकप्रद शेयरको निष्कासन तथा बिक्री खुला गर्दै छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसअन्तर्गत प्रत्येक एक कित्ता कायम शेयरका लागि एक कित्ता नयाँ शेयरको दरले कुल ५३ लाख ५८ हजार १५० कित्ता शेयर निष्कासन हुनेछ, जसको अङ्कित मूल्य प्रतिशेयर १०० रुपैयाँ छ ।
यस निष्कासनका लागि कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो । जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइसकेका शेयरधनीहरूले साउन १९ गतेसम्म यस हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्युअर रेटिङ प्रदान गरेको छ ।
आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले यस निष्कासनको प्रबन्धन गर्नेछ । लगानीकर्ताहरूले बिक्री प्रबन्धकको कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न १५ शाखाहरू, सी–आस्बा प्रणाली वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
यस निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब सात करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । सङ्कलित रकममध्ये एक करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत आयोजनाको पुनर्निर्माणमा र ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनी प्रालिमा लगानी र अधिग्रहणका लागि प्रयोग हुनेछ ।
FACEBOOK COMMENTS