काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाली नागरिकलाई आफ्नै देशमा सुरक्षित रूपमा बस्न सक्ने र समृद्ध भविष्य निर्माण गर्न सक्ने वातावरण बनाउन अमेरिकाले नेपाल सरकारसँग सहकार्य गरिरहेको जनाएको छ।
बुधबार दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पोस्टमा अमेरिकाले नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूलाई नेपालमै स्थायी बसोबास, रोजगारी तथा लगानीका अवसरहरू सिर्जना गर्न सहयोग गरिरहेको उल्लेख छ।
दूतावासको भनाइमा भनिएको छ, ‘अमेरिका नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ।’
यद्यपि दूतावासले कुनै विशेष घटना वा तथ्यांकको सन्दर्भ खुलाएको छैन, पछिल्ला दिनहरूमा अमेरिका र अन्य मुलुकबाट ठूलो संख्यामा नेपाली नागरिक डिपोर्ट भइरहेको समाचारहरू सार्वजनिक भइरहेका बेला यस्तो भनाइ आएको छ। यसले अवैध रूपमा अमेरिका पुगेका नेपाली नागरिकहरूका लागि चेतावनीको रूपमा पनि बुझ्न सकिने जनाइएको छ।
केही महिनायता अमेरिकाले आप्रवासी नीतिहरू थप कडा बनाउँदै गैरकानुनी रूपमा प्रवेश गर्नेहरूको छानबिन र डिपोर्टेसन प्रक्रियालाई तीव्र पारेको छ। यसैबीच, नेपाल सरकारले समेत वैदेशिक रोजगारीमा जाने नागरिकहरूलाई दक्ष तालिम, रोजगारी सिर्जना र स्वरोजगारका अवसर विस्तारका लागि विभिन्न योजना अघि सारेको छ।

यसैबीच, विज्ञहरू भन्छन्, दूतावासको पछिल्लो अभिव्यक्तिले दीर्घकालीन रूपमा नेपालमा नै अवसर सिर्जना गर्न वैदेशिक साझेदारहरूको सहयोगलाई संकेत गर्छ, तर यसको दीगो कार्यान्वयनका लागि नेपालको नीतिगत स्पष्टता र ठोस योजना आवश्यक हुनेछ।
