सुनसरी । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
आज धरानमा सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले धरानको खानेपानीसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सरकार, सरोकार भएका निकाय तथा स्थानीय बासिन्दाबीच हातेमालो आवश्यक रहेकामा जोड दिए ।
मन्त्री यादवले आफू राजनीति गर्न मात्र नभई विद्यमान समस्याको समाधान खोज्न आएकाले सहकार्यमार्फत विकल्प खोजिने स्पष्ट पारे । खानेपानीसम्बन्धी समस्या समाधानका लागि तत्काल छलफल गरी विकल्पसहित सहकार्य अपरिहार्य रहेको उनले खाँचो औँल्याए ।
“प्रधानमन्त्री स्वयंले धरानको समस्या समाधान गर्न मलाई पटकपटक निर्देशन दिनुभएको छ । तर यहाँ छलफल गर्न आएको बेलामा धरान नगरप्रमुखले समय दिनुभएन, यो दुःखद् हो”, उनले भने ।
मन्त्री यादवका अनुसार सङ्घीय सरकारले धरानको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन गरिसकेको छ । “धरान नगरपालिकाले उक्त बजेट लिन मानेको छैन, यसले समाधान प्रक्रिया ढिलो बनाइरहेको छ”, उनले भने, “समस्या समाधानका लागि विनियोजित बजेट स्वीकार गरी सहकार्यमार्फत दीर्घकालीन उपाय अवलम्बन गरौँ ।”
सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएमात्र देशभरका खानेपानी समस्या समाधान सम्भव हुने मन्त्री यादवले विश्वास व्यक्त गरे । “खानेपानी मन्त्रालयको नेतृत्व सम्हालेसँगै जनतालाई समस्याबाट मुक्त गराउनु मेरो पहिलो प्राथमिकता र दायित्व हो”, उनले भने ।
मन्त्री यादवले खानेपानीजस्तो आधारभूत विषयमा राजनीतिक पूर्वाग्रह नराख्न सबैलाई आग्रह गर्दै सबै पक्षले गम्भीरताका साथ हातेमालो गर्नुपर्नेमा जोड दिए । “छलफल गरेरमात्र समाधानको बाटो खुल्छ । सस्तो लोकप्रियताका लागि होइन, जनताको हितका लागि सबै मिलेर अघि बढ्न जरुरी छ”, उनले भने ।
FACEBOOK COMMENTS