काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन हो ।
बैंकले १० वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर दिने गरी ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्काशन गरेको हो ।
बैंकले प्रति इकाइ एक हजार अंकित दरका १ अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । त्यसमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गर्ने जनाएको छ ।
२० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि ५ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।
यसको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सेवा रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS