काठमाडाैं । ओखलढुङ्गाको प्रमुख सडकमार्गमध्ये एक सिद्धिचरण लोकमार्ग अवरुद्ध भएपछि आइतबारदेखि रोकिएको सवारी आवागमन अन्ततः सुचारु भएको छ ।
सडक डिभिजन हर्कपुर, ओखलढुङ्गाले सोमबार बिहान पहिरो हटाउने काम सम्पन्न गरेपछि मार्ग पुनः सञ्चालनमा आएको जनाएको छ।
सिद्धिचरण नगरपालिका–७, स्कूल डाँडास्थित भागमा आइतबार बिहान अचानक पहिरो खस्दा सिद्धिचरण लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। लगातारको वर्षाका कारण जमिन खस्किएपछि सडकको दुबै तर्फको सवारी ठप्प भएको थियो।
सडक डिभिजन हर्कपुरको पहलमा सिद्धिचरण नगरपालिका र स्थानीय प्रहरी प्रशासनसँगको समन्वयमा पहिरो हटाउने कार्य तीव्र गतिमा अगाडि बढाइएको थियो ।
आवश्यक मेसिनरी उपकरण प्रयोग गरी सोमवार बिहानसम्म सडक पूर्णरूपमा खुलाइएको डिभिजनले जनाएको छ।
सडक सुचारु भएसँगै स्थानीयवासी, यात्रु तथा सवारी चालकहरूमा राहतको भावना देखिएको छ। डिभिजनका अनुसार आगामी दिनहरूमा सम्भावित पहिरो खतरालाई ध्यानमा राखी थप सावधानी अपनाइने र आवश्यक स्थानहरूमा निगरानी बढाइनेछ।
स्थानीय प्रशासनले वर्षाको समयमा ओखलढुङ्गा क्षेत्रमा पहिरोको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन समेत सबैलाई आग्रह गरेको छ।
FACEBOOK COMMENTS