काठमाडौं । व्यापारिक संस्था लक्ष्मी ग्रुपले अटोमोबाइल ‘ल्याक्सपिरियन्स २०२५’ प्रदर्शनी आयोजना गरेको छ ।
आइतबार देखि सुरु भएको दुईदिने ल्याक्सपिरियन्स प्रदर्शनी गैह्रीधारास्थित सिल्भर ओकमा सञ्चालन भएको हो । लक्ष्मी ग्रुपले ग्राहकसंगको सम्बन्ध सुमधुर बनाउन र कम्पनीले प्रदान गरिरहेको सेवाको बारेमा प्रतिकृया लिने उदेश्यका साथ ल्याक्सपिरियन्स २०२५’ प्रदर्शनीको आयोजना गरेको हो ।
शनिबार र आइतबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्ने प्रदर्शनीमा नेपालमा प्रतिनिधित्व गर्दै आएका चार प्रतिष्ठित ब्रान्ड हुन्डाई, बीएमडब्लु, काइयी र फोर्थिङको सहभागिता रहेको छ ।
जहाँ अवलोकनकार्ताहरुलाई एकै छानामुनी ४ वटा ब्राण्डका गाडीको टेस्ट ड्राइभ गर्ने मौका प्रदान गरिएको छ ।
लक्ष्मी ग्रुप हुन्डाईका जनरल म्यानेजर दिपक थपलियाले यो अटो इभेन्टमा पहिलोपटक बीएमडब्लु जस्ता प्रिमियम ब्रान्डले सार्वजनिक रूपमै सहभागिता जनाएकाले कारप्रेमीहरूका लागि यो प्रदर्शनी विशेष बनेको बताए ।
उनले भने, ‘‘बीएमडब्लु जस्ता प्रिमियम ब्रान्डको सहभागिता रहेकाले ल्याक्सपिरियन्स प्रदर्शनीलाई विशेष बनाएको छ । गाडीलाई विक्री गर्नु मात्र कम्पनीको दायित्व नभई ग्राहकसंग एउटा दीर्घकालीन सम्बन्धको स्थापित गर्नुपर्छ भन्नेमा लक्ष्मी ग्रुपले विस्वास राख्छ । त्यसैलाई मध्यनजर गरि यो प्रदर्शनीको आयोजना गरिएको हो ।’’
लक्ष्मी ग्रुपले प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई विभिन्न ब्रान्डका नयाँ मोडल र प्रविधिहरू अवलोकन गर्नुका साथै तत्काल कार मुल्याङ्कन, विशेष छुट, लोयल्टी बोनस, सहज फाइनान्स र इन्स्योरेन्स सुविधा रहेको छ ।
नयाँ कार खरिद वा पुरानो साट्न चाहने ग्राहकका लागि यो अवसर लाभदायक हुने ग्रुपले जनाएको छ ।
‘‘गाडी किन्ने, साट्ने वा अपग्रेड गर्ने सोच राख्नुभएका जो–कोहीले भिडभाड बिना, आरामदायी तरिकाले टेस्ट ड्राइभ गर्न सकून् भन्ने चाहना हाम्रो थियो,’’ जनरल म्यानेजर थपलियाले भने ।
उनले थपे, ‘‘हामीले यो कार्यक्रमलाई एकदमै कस्टमाइज्ड बनाएर पारिवारिक अनुभवसहित आयोजना गरेका छौं ।’’
साथै, कार प्रदर्शनीसँगै नेल आर्ट, मेहेन्दी, पौडी, बालबालिकाका लागि खेल गतिविधि लगायत पारिवारिक मनोरञ्जनका विविध कार्यक्रमसमेत समावेश गरिने गरिएको छ ।
FACEBOOK COMMENTS