काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुन: बढ्दो क्रममा रहेको बताएका छन् ।
कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयले जनविश्वास पुन: प्राप्त हुँदै गएको प्रष्ट भएको उल्लेख गरे ।
उनले स्थानीय तह, स्ववियु, पत्रकार महासंघ लगायत हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा उल्लेख गर्दै भने–
’हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ। कांग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ ।’
प्रचण्डले माओवादी केन्द्रको यो बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको बताए । उनले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेको जनाउँदै गुटबन्दी, अराजकता र
अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको जानकारी दिए ।
शिक्षा विधेयक लगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको उल्लेख गर्दै उनले विशेषत: शिक्षक समुदायमा माओवादी केन्द्रप्रति समर्थन बढेको बताए ।
उनले भने– ’कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन् ।’
प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन लगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तिव्र बनाउनु पर्नेमा जोड दिए ।
उनले अब घर–घरमा पुग्ने, टोल–टोलमा संगठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउन निर्देशन दिए ।
प्रचण्डले कर्णाली प्रदेशका नेताकार्यकर्ताहरुलाई पार्टी एकता र संगठन विस्तारमा अग्रसर भई राष्ट्रिय राजनीति परिवर्तन गर्न भूमिका खेल्न आग्रह गर्दै बैठकको सफलताको शुभकामना दिए ।
FACEBOOK COMMENTS