काठमाडौं । दुई दिने आन्दोलनमा ठूलो क्षति व्यहोरेको एनसेलले पछिल्लो परिवर्तनबाट प्राप्त उप्लब्धिहरूले नेपालीहरूमा अझै ठूलो एकता, शान्ति र समृद्धिको बहार ल्याउने शाखा व्यक्त गरेको छ ।
आज सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले देशका युवाहरूको अगुवाइमा गरिएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा गरेको जनाएको हो ।
‘अब नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्यायतर्फ अघि बढ्दै गर्दा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ,’ एनसृलको विज्ञप्तिमा भनिएको छ, ‘देशका युवाहरुको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई हामी स्वागत गर्दछौँ र यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा हामी साझा गर्दछौं ।’
यस्तै, कम्पनीले गत हप्ताको तोडफोडका घटनाले आफ्नो काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्याएको उल्लेख गरेको छ । यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको एनसेलले बताएको छ ।
तर, चुनौतीहरूको बाबजुद, एनसेल सधैं झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रहेको पनि विज्ञप्तिमा जनाइएको छ । ‘सङ्कटको समयमा सहज रुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म नि:शुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौँ । हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौँ र यसले हाम्रो ग्राहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रुपमा प्रतिबिम्बित गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको दूरदृष्टिमा योगदान पुर्याउँदै आएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुन: दोहोर्याउन चाहान्छौँ । हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौं र अहिलेसम्म प्रदान गर्नुभएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी छौँ ।’
कम्पनीले अन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि शुभेच्छा प्रकट गरेको छ ।
FACEBOOK COMMENTS