काठमाडौं । अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि हिजो आइतबार पाँच जनाको नाम सिफारिस गरेर शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा पठाएकी थिइन् ।
प्रधानमन्त्री कार्कीले अनिल कुमार सिन्हा, महावीर पुन, मदन प्रसाद परियार, जगदीश खरेल र डा. सङ्गीता मिश्रालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरिन् । पाँचजनामध्ये एक मात्र महिला त्यो पनि मधेशको प्रतिधित्व गर्ने सङ्गीता मिश्रालाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनाउने तयारी थियो ।
तर, उनको नाम सिफारिस भएलगत्तै भ्रष्टाचारलगायत विभिन्न अस्वाभाविक क्रियाकलापमा संलग्न रहेको तथ्य र तर्कसहितका साचारहरू बाहिर आउन थाले । बजारमा आएका विषयहरूप्रति गम्भीर हुँदै प्रधानमन्त्री कार्कीले आज सोमबार सपथअघि नै उनको नाम मन्त्रीको सूचीबाट हटाइन् र बाँकी चार जना मन्त्रीलाई मात्र सपथ ग्रहण गराइन् ।
न रहिन् सचिव, न बनिन् मन्त्री
मन्त्री बन्ने पक्कापक्की भएपछि आइतबारै उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । उक्त राजीनामा तत्काल स्वीकृत भइसकेको छ । तर, यता मन्त्रीको सपथ खान नपाउँदा उनी अहिले ‘घरको न घाटको’ बन्न पुगेकी छिन् ।
६ महिने मन्त्रीको लालसामा उनले वर्षौँको दु:ख र मेहनतबाट खाएको जागिरबाट हात धोइसकेकी छिन् । उच्च ओहोदामा रहेकी उनको अनेकन सम्भावनाहरू पनि राजीनामासँगै समाप्त भएको छ ।
सङ्गीता किन बन्न सकिनन् मन्त्री ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्वअतिरिक्त सचिव डा. सङ्गीता मिश्रामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको कारण मन्त्री बन्नबाट वञ्चित भएकी हुन् । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा म्यामोग्राम मेशिन खरिद नै नगरी हस्तान्तरणको नाटक गरेको र नक्कली बिल जारी गरी रकम भुक्तानी गराएको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बताइएको छ ।
त्यस्तै, उनीसँग सम्बन्धित मेडिकल उपकरण खरिदका अन्य फाइल पनि अख्तियारमा छानबिनकै क्रममा रहेका छन् । त्यसका अलावा ११औं तहमा नियुक्ति हुँदाका बखत कागजपत्र कीर्ते गरेको आरोप पनि उनीमाथि छ ।
यस्तै, ६ महिनाको लामो विदा बसेर राष्ट्रको ढुकुटी दोहन गरेको आरोप पनि उनीमाथि लगाइएको छ । यसअघि उनी सचिव बन्ने दौडमा थिइन् । गत फागुन २२ गतेको मन्त्रिपरिषद बैठकले उनलाई छाडेर डा. विकास देवकोटालाई सचिव नियुक्त गरेको थियो ।
वरिष्ठता मिचेर सचिव नियुक्त गरेकामा असन्तुष्टि जनाउँदै उनले ६ महिना लामो विदा बसेर तलव मात्रै खाएको र देश र जनतालाई धोका दिएको टिप्पणी पनि भइरहेको छ । स्रोतका अनुसार मन्त्री बन्ने पक्का भएपछि ६ महिनापछि आइतबार मन्त्रालय हाजिर भएर राजीनामा दिएकी थिइन् । तर, अहिले न सचिव पद रह्यो, न त मन्त्री बन्न नै पाइन् ।
को हुन् मिश्रा ?
डा. मिश्रा २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेर करिब एक वर्ष त्यहाँ काम गरेकी थिइन् । त्यसपछि उनी फुलब्राइट छात्रवृत्ति पाएर अमेरिका पढ्न गइन् । फेरि २०७० असोज १० गते खुलातर्फको प्रतिस्पर्धामा ११औं तहमा नाम निकालेर उनी स्वास्थ्य सेवामा प्रवेश गरेकी थिइन् । उनले स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरिसकेकी छिन् ।
प्रधानमन्त्री कार्कीले काटिन् मन्त्रीको सूचीबाट डा.संगीताको नाम
स्वास्थ्यमन्त्रीमा डा.मिश्राको सिफारिस विवादमा, प्रधानमन्त्री कार्कीले रोकिन् सपथ
FACEBOOK COMMENTS