काठमाडौं । अन्तरिम सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा प्रमुख राजनीतिक दलका नेताहरूको राहदानी रोक्का गर्ने तयारी गरिरहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाले देश छोड्ने तयारी गरेको सूचनाले बाहिरिएको छ।
सरकारी सुरक्षास्रोतका अनुसार देउवा दम्पती यही असोज ३ गते नयाँ राहदानी बनाएर थाइल्यान्डको भिसा समेत प्राप्त गरिसकेका छन्। उनीहरूले उपचार वा अन्य कारण देखाएर विदेश प्रस्थान गर्न सक्ने भन्दै सुरक्षा संयन्त्रलाई सतर्क रहन भनिएको थियो। स्रोतका अनुसार देउवा दम्पती देश बाहिरिने पूर्ण तयारीमा छन्।
यसैबीच, राहदानी विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (डिएमएलआई) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बीच देउवा दम्पतीको राहदानी रोक्का गर्ने विषयमा छलफल भइरहेको छ। डिएमएलआईले राहदानी विभागलाई पत्राचार गरेपछि कानुन अनुसार राहदानी रोक्का गर्न सकिने प्रावधान छ।
राहदानी ऐन २०७६ को दफा १२ अनुसार, भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा सम्बन्धित अधिकारीको अनुरोधमा राहदानी रोक्का गर्न सकिन्छ। देउवा निवासमा हालै सम्पत्ति शुद्धीकरण विभागले मुचुल्का उठाएको थियो। सो क्रममा नगद भेटिएको भिडियो सार्वजनिक भएपछि अनुसन्धानको दायरा फराकिलो बनाइएको हो।
यसअघि, भदौ २४ गते देउवाको बुढानीलकण्ठस्थित निवासमा तोडफोड र आगजनी भएको थियो। त्यस घटनापछि उनीहरूको पासपोर्ट जलेको वा हराएको अनुमान गरिएको थियो। तर, हाल नयाँ राहदानी बनाइएको र विदेश जान ठोस तयारी भएको देखिएको छ।
सरकारले उच्चस्तरीय नेताहरूको विदेश भ्रमणलाई निगरानीमा राख्दै, देउवा दम्पतीको राहदानी प्रयोगबारे थप निर्णय चाँडै गर्ने संकेत देखिएको छ।
FACEBOOK COMMENTS