काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले देशकै आर्थिक पाटो मजबुत बनाउन लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएको भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासका लागि सरकार प्रतिवद्ध भएर लाग्ने बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग सिँहदरबारस्थित मन्त्रालयमा भएको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री सिन्हाले भने “अर्थतन्त्रको महत्वपूर्ण पाटोका रुपमा रहेका घरेलु तथा साना उद्योगहरु मेरो र सरकारकै पनि प्राथमिकता प्राप्त क्षेत्र हो । छोटो समयको लागि यो जिम्मेवारीमा आएको छु के कति हदसम्म गर्न सकिन्छ म पहल गर्छु ।”
मन्त्री सिन्हाले स्वदेशी वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिने नीति अंगिकार गरेको जानकारी दिँदै यस्तो प्रयोगले रोजगारी सिर्जना गर्ने, स्थानीय उद्योगलाई मजबुत बनाउने र आयातलाई घटाउने अपेक्षा गरिएको बताए ।
मुलुकको पुननिर्माण तथा मर्मत कामहरुमा स्थानीय स्रोत साधन र स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले आगामी निर्वाचनका लागि जेजति वस्तु आवश्यक पर्छ स्थानीय तहमा पाइने वस्तुलाई प्राथमिकतामा राख्न विशेष अनुरोध गरेको बताए ।
सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता रहेको भन्दै उहाँले विशेष गरी फर्निचर र निर्माण सामग्रीहरूमा पुनर्निर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागू गरिने बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिँहले बैंकको उच्च ब्याजदरका कारण लघु, घरेलु तथा साना उद्यमीहरु ऋण तिर्न असमर्थ रहेकाले ब्याजदर घटाउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानकर्षण गराए ।
उद्यमीले लिएको ऋणको पुनर्तालिकीकरण तथा ऋण पुनर्संरचनाको आवश्यकता औंल्याउँदै उनले यस्ता उद्योगको हकमा सहुलियतपूर्ण कर्जाको दायरा तीन करोड पुर्याउनुपर्ने र २–३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानाकर्षण गराए ।
स्वदेशी उत्पादनहरुलाई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाई भएकाले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिको खाँचो औंल्याउँदै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई बढावा दिनुपर्ने बताए । निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन तथा प्रक्रिया सरलीकरण आवश्यक आवश्यक भएको भन्दै उहाँले ठुला र साना उद्योगलाई एउटै बास्केटमा नराखी साना उद्योगलाई छुट्टै सेवा सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
महासंघ अन्तरगत केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवालले महिलाहरुले सञ्चालन गरिरहेका साना तथा घरेलु उद्योग अफ्ठ्यारोमा रहेको भन्दै यस्ता अफ्ठ्यारोलाई फुकाउन सहुलियत दरको कर्जामार्फत सहजीकरण गरिदिन आग्रह गरे ।
FACEBOOK COMMENTS