काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज आइतबार घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।
आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।
नवरात्रको छैटौं दिन अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ ।
धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।
दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ ।
दूर्गा कवच मन्त्र–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति। चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति।महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको बताइन्छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रुपमा महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नौ कन्याको पूजासमेत गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ ।
बडादशैंको टीकाको शुभ साइत:
बडा दशैँको टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे तोकिएको छ भने असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी स्थिरासन बिहान ९:२३ बजे तोकिएको छ ।
FACEBOOK COMMENTS