काठमाडौं । आणविक कार्यक्रमलाई लिएर जारी तनावका बीच उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकालाई फेरि एक पटक चेतावनी दिएका छन् ।
आफ्नो वर्कर्स पार्टीको ८० औं वार्षिकोत्सवमा भाषण दिँदै किमले उत्तर कोरियालाई विश्वको उत्कृष्ट समाजवादी देश बनाउने र कुनै पनि खतराको जवाफ आणविक शक्तिले दिने चेतावनी दिएका हुन् ।
यस क्रममा उनले चीन र रुस जस्ता देशका नेताहरूको उपस्थितिमा पश्चिमी देशहरू विरुद्धको गठबन्धनलाई बलियो बनाउने संकेत पनि गरे भने अर्कोतर्फ, उनले अमेरिकासँग वार्ता गर्ने इच्छा पनि व्यक्त गरे ।
आफ्नो भाषणमा किमले अमेरिकाको बढ्दो आणविक खतराको सामना गर्न सकियोस् भनेर आणविक हतियार र अर्थतन्त्र दुवै विकास गर्ने नीति अपनाएको बताए ।
उनले हाम्रा विरोधीहरूको राजनीतिक र सैन्य दबाबको साहसपूर्वक जवाफ दिइरहेको बताउदै देशलाई समृद्ध र सुन्दर बनाएर, विश्वको उत्कृष्ट समाजवादी स्वर्ग बनाउने घोषणा गरेका छन् ।
किमको वर्कर्स पार्टीको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा चीनका प्रधानमन्त्री ली छियाङ, रुसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेव र भियतनाम कम्युनिष्ट पार्टीका प्रमुख तो लामले भाग लिएका थिए । किमले धेरै नेताहरूसँग छुट्टाछुट्टै भेटेका छन् ।
त्यस्तै, शुक्रबार एक विशाल सैन्य परेड हुने सम्भावना छ, जसमा किमले आफ्ना नयाँ र खतरनाक हतियारहरू प्रदर्शन गर्न सक्छन् ।
यसमा अमेरिकालाई प्रहार गर्न सक्षम लामो दूरीको क्षेप्यास्त्रहरू पनि समावेश छन् । २०१९ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किमको वार्ता कुनै सम्झौता बिना नै सकिएको थियो ।
तर अब किमले अमेरिकाले पूर्ण आणविक निशस्त्रीकरणको सर्त त्याग्यो भने, फेरि वार्ताको लागि तयार रहेको बताएका छन् ।
FACEBOOK COMMENTS