काठमाडौं । जेन जी आन्दोलनका एक अगुवा मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ढुङ्गानासहितका युवाहरूले नयाँ राजनीतिक पार्टी खोलेर अघि बढ्न लागेको बताएका हुन् ।
ढुङ्गानाले आफूहरूले चुनावमा जान भनेर मात्र पार्टी खोल्न नलागेको भन्दै आन्दोलनलाई छोडेर जान नमिल्ने भएकाले नयाँ पार्टी खोल्न लागेको बताए ।
उनले भने, ‘हामीले चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौं । भीडले देश विकास हुँदैन, कि एनजीओ खोल्नुपर्यो कि पार्टी नै खोल्नुको विकल्प छैन । हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन । प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो । त्यो मुद्दालाई सुन्नै पर्छ । हामी चुनावमा जानभन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौं ।’
ढुङ्गानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था, भ्रष्टाचार अन्त्य गर्नका लागि नागरिकस्तरीय छानबिन समिति गठन नभएसम्म आफूहरूले चुनावमा भाग नलिने स्पष्ट गरे ।
ढुङ्गानाले देशमा युवाहरूलाई बस्न सक्ने वातावरण बनाउन र युवा पुस्ताको पलायन रोक्न आफूहरू राजनीतिमा आउनुपरेको धारणा राखे । उनले जेन जीहरूलाई एक ठाउँमा आउन आह्वान गर्दै नयाँ दलको नाम के राख्ने भन्ने जनतासँग सुझाव लिइरहेको बताए ।
याे पनि पढ्नुहाेस्–
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभएसम्म चुनावमा जाँदैनौं– मिराज ढुङ्गाना
FACEBOOK COMMENTS