काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- अन्तरिम सरकारको राजदूत फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताद्धय प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले राजदूत फिर्ता गर्ने सरकारको निर्णय बदरको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । रिटमा अन्तरिम आदेशको माग गरिएको छ । कामचलाउ सरकारलाई दूरगामी महत्वको राष्ट्रिय विषयमा निर्णय गर्ने अधिकार नरहेको रिट निवेदकको दावी छ । रिटमा सुनुवाइका लागि कात्तिक ९ मा पेशी तोकिएको छ ।
असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो । सरकारले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउदै कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिएको छ ।
२- नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले राजसंस्थासहित सर्वपक्षीय भेलाबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता श्रेष्ठले लोकतन्त्रको नाममा राजनीतिक दललाई एनजिओद्वारा विस्थापित गर्न प्रपञ्च हुँदै गरेको बताउदै राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेन-जी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता रहेको बताएका हुन् ।
उनले भने- ‘हामीले पाठ सिकेर राजनीतिक दलहरूले निषेधको राजनीति त्यागेर सहकार्य गरेर अघि बढ्नुपर्छ । राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेन-जी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ ।’ नेता श्रेष्ठले सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिला गर्न नहुने बताउदै यसका लागि आफुले सक्रिय भूमिका खेल्ने बताएका छन् । आफु माओवादीसँगको शान्ति सम्झौताको समेत हस्ताक्षरकर्ता भएको बताउदै श्रेष्ठले सबै दललाई एक ठाउमा आउन आग्रह समेत गरेका छन् । उनले हाल काँग्रेसमा जारी महाधिवेशनको विवादका बिचमा चैतभित्र नियमित महाधिवेशन गर्न प्रस्ताव समेत गरेका छन् । उनले मंसिरमा नियमित महाधिवेशन गर्न सम्भव नहुने बताउदै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्ने महाधिवेसन प्रतिनिधिको पनि सम्मान गर्दै समाधान खोजिनुपर्ने बताए ।
३- अस्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न बर्षाले प्रभावित सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई डक वर्थ लुइस नियम अनुसार ७ विकेटले पराजित गरेको हो । २६ ओभरमा खेलिएको यस खेलमा भारतले दिएको १३१ रनको लक्ष्य अस्ट्रेलियाले २१.१ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । यस अघि भारतले २६ ओभरमा ९ विकेट गुमाउदै १३६ रन बनाएको थियो । यस खेलमा भारतका पुर्व कप्तानद्वय रोहित शर्मा र विराट कोहली पनि खेलेका थिए । तर यस खेलमा दुवैले आफ्नो प्रभाव छोड्न सकेनन । रोहित ८ र विराट शुन्यमा आउट भएका थिए । यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल विहिबार खेल्ने तालिका रहेको छ ।
४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सेनाको सुरक्षामा बस्दा आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । आइतबार सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै ओलीले प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको बताउदै सेनाले आफ्नो मोबाइल लिएको बताएका हुन् । उनले भने- ‘राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । यसलाई तपाईंहरु जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिए । प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थियो । त्यसैले म २७ गते बेलुकासम्म म कन्ट्याक्टमा रहिन ।’ ओलीलाई तपाइँ सेनाको सुरक्षामा या नियन्त्रण के मा हुनुहुन्थ्यो ? भन्ने प्रश्नको जवाफ दिदै ओलीले यस्तो बताएका हुन् ।
५- नेप्सेमा आज वृद्धि भएको छ । आइतबार नेप्से १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२३ कम्पनिका ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा कारोबार भएको थियो । आज विकास बैंक, म्युचुअल फन्ड र निर्जीव बीमा क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ । आज आत्मनिर्भर लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने हिमालय पावरको ९.८९ प्रतिशतले बढेको छ । हिमालय ८०-२० को शेयर ६.१० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २८ करोड १० लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको २५ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।
६- नेकपा एमालेले राष्ट्रिय युवा संघ नेपाललाई तीन प्रमुख जिम्मेवारी दिएको छ । एमाले नेता महेश बस्नेतका अनुसार पार्टीले युवा संघलाई तीन प्रमुख जिम्मेवारी दिएको जानकारी दिदै जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउने विदेशीको दलाल बनेर एनजीओ आइएनजीओ मार्फत देशलाई बर्बाद पार्ने विदेशीसँग आर्थिक लाभ लिने सबैको नाम र विवरण संकलन गर्ने जिम्मेवारी दिएको बताएका छन् । त्यस्तै भदौ २४ गते सरकारी सम्पत्ति व्यक्तिगत सम्पत्ति र प्रहरी चौकी आगजनी गर्ने नष्ट गर्ने र तोडफोड गर्ने सबैको तथ्य प्रमाण जुटाएर कारबाही अघि बढाउने र देशभरका प्रत्येक टोलमा डिजिटल जेनेरसन फोर्स (डिजी फोर्स ) टोल सुरक्षा समूह गठन गर्ने जिम्मेवारी दिएको नेता बस्नेतले जानकारी दिएका छन् ।
७- प्रधान सेनापति महारथी अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी गणेश कुमार श्रेष्ठलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उनी नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम आश्विन ३० गतेबाट रथी दर्जामा पदोन्नति भएका हुन् । पदोन्नतिसँगै रथी श्रेष्ठ बलाध्यक्षमा नियुक्त भएका छन् । दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीबृन्दको परिवारजनको उपस्थिति थियो ।
८- नेपालले शरद भेस्वाकरको कप्तानीमा ‘हङकङ क्रिकेट सिक्सेस’ मा भाग लिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ चाइनामा आयोजना हुने ‘हङकङ क्रिकेट सिक्सेस’ प्रतियोगितामा सहभागी हुने भेस्वाकरको कप्तानीमा ७ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा शरद भेस्वाकर (कप्तान), सन्दीप जोरा, मोहमद आदिल आलम, लोकेस बम, बसिर अहमद, रसिद खान र रुपेश कुमार सिंह रहेका छन् ।
क्यानले यस प्रतियोगितापछि शरद भेस्वाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जानकारी दिएको छ । ‘हङकङ क्रिकेट सिक्सेस मा नेपालसहित अफगानिस्तान, दक्षिण अफ्रीका, अस्ट्रेलिया युएई, इङल्याण्ड, बह्र्ट, कुवेत, पाकिस्तान, बंगलादेश, हङकङ र श्रीलंका खेल्दैछन् । ‘हङकङ क्रिकेट सिक्सेसमा नेपाल समुह ए मा अफगानिस्तान र दक्षिण अफ्रिका रहेका छन् । नेपालले पहिलो खेल नोभेम्बर ७ मा अफगानिस्तानसँग र नोभेम्बर ८ मा दक्षिण अफ्रीकासँग खेल्ने कार्यक्रम रहेको छ ।
९- नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले चुनाव गर्ने हो राजनीतिक दलहरुलाई सहभागी गराएर नयाँ सरकार बनाउनुपर्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर विप्लवले सरकारले जबर्जस्ति चुनाव गर्न खोजे देश सिरिया बन्ने खतरा रहेको भन्दै दलहरुलाई किनारा गरेर निर्वाचन सम्भव नभएको बताएका छन् । उनले हजारौं हतियार लुटिएको र कैदीहरु बाहिर रहेको अवस्थामा चुनाव हुन नसक्ने भन्दै पहिला त्यसलाई सम्बोधन गर्नुपर्ने बताए ।
नेपालमा अरुको इशारामा जबर्जस्ति निर्वाचन गर्ने प्रयास हुन लागेको भन्दै नयाँ सरकार बनाएर निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् । उनले नेपालमा अमेरिका-तिब्बत-नेपाली सेना बनाएको आशंका जेनजी आन्दोलनमा काला टिसर्टधारी टिओबी समुहको उपस्थितिले देखिएको बताएका छन् । उनले नेपालमा कल्पना नै नगरिएको २ लाख-३ लाख तिब्बती शरणार्थी छन् भन्ने हल्ला गराएर टिओबीको टिसर्ट लगाएर हतियर देखाएर गरिएको प्रदर्शनले अनेक आशंका उब्जिएको बताए । साथै उनले जेनजी आन्दोलनपछि बृहत कम्युनिष्ट केन्द्रको आवश्यकता देखिएको भन्दै अहिले आफुहरुले माओवादी केन्द्र लगायतका दलहरुसँग यस विषयमा छलफल गरिरहेको बताए । विप्लवले अहिलेका कम्युनिष्ट पार्टीका नेतृत्वहरुले संरक्षकको भूमिकामा गएर कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा आफुहरुले जोड दिइरहेको बताए ।
१०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेअनियमितता गरेको आरोपमा तत्कालीन महानिर्देशकएवं पुर्व सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले ठेक्का सम्झौता शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल, गलत प्रतिवेदन र भुक्तानी प्रक्रिया पूरा गरिएको ठहर गर्दै आइतबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरको हो । आयोगका अनुसार विभागले आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्नेदेखि खरिद गर्नेसम्म मिलेमतोमा गरेको प्रमाणित भएको भन्दै मुद्दा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले डा. मिश्रलाई १४ करोड ६ लाख ८५ हजार ५ सय बराबर बिगो र सजायको माग गरेको छ । डा. मिश्र सुशिला कार्कीको मन्त्रिपरिषद विस्तार हुदा स्वास्थ्यमन्त्री बन्ने लगभग निश्चित भएपछि यसै अनुसन्धानका कारण उनको नियुक्ति अन्तिम समयमा रोकिएको थियो । त्यतिबेला मन्त्री बन्ने निश्चित भएपछि उनले सचिव पदबाट राजीनामा समेत दिएकी थिइन् । त्यस्तै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवण कुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुबन प्रसाद काफ्ले, विभागका कानुन अधिकृत सिता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, तत्कालीन शाखा अधिकृत यादव प्रसाद सापकोटा, विभागका तत्कालीन लेखा अधिकृत शम्भु प्रसाद ढकाल, विभागका लेखापाल तिलक राम ढकाल, विभागका बायोमेडिकल ईन्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल ईन्जिनियर पध्मा मिश्र, विभागको केन्द्रिय स्टोर पथलैयाका जनस्वास्थ्य निरिक्षक संजय कुमार साह र म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध पनि १४ करोड ६ लाख ८५ हजार ५ सय बराबर बिगो र सजायको माग गरेको छ ।
११- हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ । इजरायलको राजधानी तेल अवीवस्थित आर्मर्ड ब्रिगेड मेमोरियल (बेन गुरियन विमानस्थल) मा जोशीलाई श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको छ र कयौं नेपालीहरुले यस श्रद्धाञ्जली सभामा भाग लिएका छन् ।
श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी रहेको बताइएको छ । जोशीको शव भोलि सोमबार नेपाल ल्याउने तयारी छ । उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइदैछ । सो विमान सोमबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ भने विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने बताइएको छ ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमति अनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि इजरायली सेनाले आज नेपाल फर्काउने तयारी गरेको हो । इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको बताएको छ ।
१२- बेलायती राजा चार्ल्स तृतीयका कान्छा भाइ राजकुमार एन्ड्रयूले आफ्ना सबै शाही उपाधि त्याग्ने घोषणा गरेका छन् । एन्ड्रयूले अब ‘ड्यूक अफ योर्क’ जस्ता उपाधि प्रयोग नगर्ने बताएका छन् । यौन अपराधी जेफ्री एपस्टाइनको मुद्दामा राजकुमार एन्ड्रयूको नाम बाहिर आएपछि उनले यस्तो निर्णय गरेको बताइएको छ । यसबाहेक, आर्थिक अनियमितता र एक कथित चिनियाँ जासूससँगको उनको सम्बन्धको बारेमा प्रश्नहरू उठेका छन् । यद्यपि राजकुमार एन्ड्रयूले आफूमाथि लगाइएका आरोपहरूलाई ‘पूर्ण रूपमा अस्वीकार’ गर्ने बताएका छन्, तर घोटालाहरूले उनको छविलाई क्षति पुर्याएको छ ।
१३- मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट राजीनामा दिएका छन् । ८० बर्षिय बैद्यले आफ्नो उमेर र स्वास्थ्यको कारण देखाउँदै पद छोडेका हुन् । बैद्यको स्थानमा शनिबार राति सकिएको केन्द्रीय कमिटीको बैठकले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बनेको थियो ।
१४- अमेरिकाका विभिन्न शहरहरूमा हजारौं मानिसहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विशाल प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले ट्रम्पको शासनकालमा देश द्रुत गतिमा अधिनायकवादतर्फ अघि बढिरहेको आरोप लगाएका छन् । आयोजकहरूका अनुसार, देशभर २६ सयभन्दा बढी स्थानमा जुलुसहरू आयोजना गरिएका थिए । यसअघि, जुनमा पहिलो ‘नो किंग्स’ विरोध प्रदर्शनको क्रममा लगभग २१ सय र्यालीहरू आयोजना गरिएका थिए ।
न्यूयोर्कको टाइम्स स्क्वायर, बोस्टन, एटलान्टा र शिकागोका पार्कहरूमा ठूलो भीड जम्मा भएको थियो । मानिसहरू वाशिंगटन, लस एन्जलस र धेरै रिपब्लिकन शासित राज्यहरूमा पनि सडकमा उत्रिए । रिपब्लिकन पार्टीले यी विरोध प्रदर्शनहरूलाई ‘हेट अमेरिका र्याली’ भनेर लेबल लगाएको छ । राष्ट्रपति ट्रम्पको कार्यकालमा यो तेस्रो ठूलो विरोध प्रदर्शन हो । उल्लेखनीय कुरा अमेरिका हाल ‘शट डाउन’ अर्थात बन्दको अवस्थामा रहेको छ, धेरै सरकारी सेवाहरू बन्द भएका छन् । ट्रम्प प्रशासनको कडा व्यवहारले कांग्रेस र न्यायपालिकासँग द्वन्द्व बढाएको छ । ट्रम्प आफ्नो फ्लोरिडा घर, मार-ए-लागोमा एक टिभी अन्तर्वार्तामा मलाई राजा भनिरहेको तर आफु राजा नभएको बताएका थिए ।
पछि, उनको सामाजिक सञ्जाल टोलीले ट्रम्पलाई राजाको रूपमा चित्रण गर्ने भिडियो जारी गरेको थियो । विरोध प्रदर्शनमा सहभागीहरूले लोकतन्त्र, न्याय र शक्तिको दुरुपयोगको विरुद्धमा आवाज उठाइएको बताएका छन् । उनीहरुले शान्तिपूर्ण विरोध र हाम्रो कुनै राजा छैन भन्नु अमेरिकी लोकतन्त्रको पहिचान भएको बताएका छन् ।
१५- नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ४ हजार ८०० ले घटेर तोलाको २ लाख ५३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ५८ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ३२७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३३५० मा कारोबार भएको थियो ।
१६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले सचिवालयमा चार जना सदस्य थपिएको विषयमा असन्तुष्टि जनाएकी छन् । तोसिमा टिप्पणी गर्दै महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी दुई हप्तामा हुन लागेको बिस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरिएको बताउदै हामीले खोजेको रिफर्मेसन यो नभएको बताएकी छन् । रास्वपाको शनिबार बसेको सचिवालय बैठकले गणेश पराजुली, शिशिर खनाल, सोबिता गौतम र हरि ढकाल सचिवालय सदस्यमा थपेपछि तोसिमाको यस्तो टिप्पणी आएको हो ।
उनले भनेकी छन्: पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो । त्यसैको लागी विस्तारित बैठक तोकिएको थियो । महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी २ हप्तामा हुन लागेको बिस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो । हामीले खोजेको रिफर्मेसन यो होईन । कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो । फेरी पनि भन्दैछु हामी थप लोकतान्त्रिक हुन जरुरी छ । कार्यशैली सच्याउन जरुरी छ । पार्टीका गतिविधिहरुमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्छ । पुन: दोहोर्याउँछु, विस्तारीत बैठकमा पार्टीको सङ्गठनको बृहत सहभागिता र भोटिंग राइट्सको सुनिश्चित गरियोस् भनि माग गर्दछु । भोटिंग राइट्स नदिने भए देश भरीबाट चितवनसम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन ।
१७- नेपाली काँग्रेसका विशेष महाधिवेशन माग गर्ने नेताहरुले संस्थापन पक्षलाई षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । विशेष महाधिवेशन पक्षका नेता गुरु घिमिरेसहितका नेताहरुले आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको बैठकले छिटै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् । काँग्रेस नेताहरुले ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिसकेपछि केन्द्रीय समितिले अन्य विषयमा छलफल गर्न नमिल्ने दाबि गरेका छन् ।
उनीहरुले केन्द्रीय समितिको निर्णय अनुसारनै आफुहरुका आगामी कदम हुने बताएका छन् । अहिलेको संबेदनशील अवस्थामा पनि केन्द्रीय समितिको बैठक २-३ घण्टा गरिएको र लम्बाइएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए । कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै असोज २१ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो । काँग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ ।
१८- अमेरिकाले गाजामा हमासले नागरिकहरूलाई आक्रमण गर्ने योजना बनाइरहेको चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयले हमासले गाजामा आक्रमणको तयारी गरेको चेतावनी दिदै यस्तो कुनै पनि कदम युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन हुनेछ र मध्यस्थताबाट प्राप्त प्रगतिलाई कमजोर पार्ने बताएको छ । यद्यपि, अमेरिकी अधिकारीहरूले यी रिपोर्टहरूको स्रोत वा तिनीहरूसँग सम्बन्धित कुनै पनि अतिरिक्त जानकारी साझा गरेका छैनन् ।
अमेरिकाले गाजा शान्ति सम्झौताका अन्य ग्यारेन्टरहरू, अर्थात् इजिप्ट, कतार र टर्कीलाई यस विषयमा पहिले नै जानकारी गराइसकेको र हमासले युद्धविरामका सर्तहरू पालना गर्न माग गरेको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ- ‘यदि हमासले यो आक्रमण गर्छ भने, गाजाका जनताको सुरक्षा सुनिश्चित गर्न र युद्धविराम कायम राख्न कदम चालिनेछ ।’ अमेरिकाको यस दाबीमा हमासले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । हाल, इजरायल र हमास बीच युद्धविरामको पहिलो चरण लागू भएको छ । जीवित बन्धकहरूलाई हमासले रिहा गरेको छ, जबकि मृतकहरूको शव इजरायललाई हस्तान्तरण गर्ने प्रक्रिया चलिरहेको छ ।
१९- काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ ले काठमाडौंको नारायणहिटी गेटमा ‘२२औँ काग सम्मेलन’ गरेका छन् । कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई बोलाएका थिए । बिहान पौने ६ बजे कार्यक्रम सुरु भएपछि उनका कागको आवाज निकाल्दा दर्जनौं काग आकाशबाट झर्दै भेला भएका थिए । दुलालले कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज निकाल्न सक्ने कला देखाएका छन् । उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट र गितारको धुन समेत प्रस्तुत गरेका थिए । दुलालले काग तिहारको दिन काग सम्मेलन गर्न थालेको २२ वर्ष भएको छ ।
२०- पाकिस्तान र अफगानिस्तानबीच तत्कालदेखि लागु हुने गरि युद्धविराम गर्ने सहमति भएको बताएको छ। दोहामा भएको वार्तामा यस्तो सहमति भएको कतारले जानकारी दिएको छ । कतारको विदेश मन्त्रालयले उसको र टर्कीको मध्यस्थतामा भएको वार्तामा दुई देशले सीमा क्षेत्रमा दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न संयन्त्र स्थापना गर्न पनि सहमति जनाएको बताएको छ । अर्को चरणमा, युद्धविरामको अनुगमन र प्रभावकारी कार्यान्वयनको बारेमा छलफल गर्न दुवै पक्षका समितिहरू दोहा र इस्लामाबादमा भेट्नेछन् । कतारको विदेश मन्त्रालयले यो सम्झौताले पाकिस्तान-अफगानिस्तान सीमामा बढ्दो तनाव कम गर्ने र क्षेत्रीय स्थिरतातर्फ निर्णायक पहिलो कदम साबित हुने बताएको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सम्झौताको पुष्टि गरेका छन् र युद्धविरामले दुई देशहरू बीचको जारी सीमा तनाव अन्त्य गर्ने आशा व्यक्त गरेको जियो न्यूजले उल्लेख गरेको छ । ख्वाजा आसिफले थप वार्ताका लागि अक्टोबर २५ मा इस्तानबुलमा दुवै पक्षका प्रतिनिधिमण्डलहरू फेरि भेट्ने समेत बताएका छन् । यसअघि, पाकिस्तान र अफगानिस्तान बीचको द्वन्द्वमा तीन युवा क्रिकेटरहरू सहित धेरै नागरिकहरू मारिएका थिए । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले युद्धविराम उल्लङ्घन गरेको र आक्रमणमा सर्वसाधारण मारिएको दाबी गरेको छ । पाकिस्तानले सुरक्षा बलले अफगानिस्तानको सीमामा रहेको उत्तर र दक्षिण वजिरिस्तान जिल्लाहरूको सीमावर्ती क्षेत्रहरूमा ‘आतंकवादी शिविरहरू’ लाई लक्षित गरेको बताएको छ ।
FACEBOOK COMMENTS