काठमाडौं । नेपाल प्रहरीले कुकुर तिहार मनाएको छ । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले सोही कार्यालयको प्राङ्गणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेका छन् ।
यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’लाई पुरस्कृतसमेत गरिएको छ । साथै, यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उनले पुरस्कार प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाइन सेवाले खेलेको महत्त्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाइन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोतसाधनयुक्त बनाउँदै लैजानुपर्ने बताए ।
कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरूले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगितालगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए ।
प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेतनारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक कृष्णबहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिमप्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ ।
कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरूलगायत सञ्चारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति थियो ।
FACEBOOK COMMENTS