काठमाडौं । अमेरिका र इरानबीच फेरी एक पटक वार्ता गराउने पहल शुरु भएको छ ।
कतारले इरान र अमेरिकालाई वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेको बताएको छ । मिडिया रिपोर्टका अनुसार कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल(थानीले आफ्नो देशले इरान र अमेरिकालाई वार्ताको टेबलमा फिर्ता ल्याउने प्रयास गरिरहेको बताएका हुन् ।
यस वर्ष, ओमानले इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरेको थियो । इरान र अमेरिकाबीच पाँच चरणको वार्ता भएको थियो, तर १२ दिनको युद्धमा इजरायल र त्यसपछि अमेरिकाले इरानमा आक्रमण गरेपछि तेहरानले अमेरिकासँगको वार्ता रद्द गरेको थियो । अमेरिकी आक्रमणको प्रतिक्रियामा, इरानले कतारको अमेरिकी हवाई अड्डामा मिसाइल आक्रमण गरेको थियो, जसको कतारले सुरक्षा परिषद्मा विरोध गरेको थियो ।
अमेरिका र इजरायलको इरानको परमाणु केन्द्रहरु ध्वस्त गरेको दाबी गरेपनि इरानले केन्द्रहरुमा क्षति नपुगेको वा आफ्ना परमाणु हतियार बचाएको अड्कलबाजी गरिएको छ ।
अर्कोतर्फ, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानले सक्रिय रूपमा युरेनियम संवर्धन नगरेको बताएका छन् । यद्यपि, उनको अनुसार, इरानको युरेनियम संवर्धन केन्द्र नजिकै केही गतिविधि देखिएको बताइएको छ ।

FACEBOOK COMMENTS