कठमाडौं । नेकपा (एमाले) निकट मजदुर सङ्गठन जिफन्टका उपाध्यक्ष कमल गौतम बिहीबार भैरहवामा भाषण गरिरहँदा एक्कासि बेहोश भएर ढले ।
भैरहवास्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयअगाडि डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युतको बक्यौता विवादका कारण उद्योगहरूमा विद्युत लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोश भएर ढलेका थिए । उनलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरे ।
मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईका अनुसार गौतमलाई ‘भेन्ट्रिकुलर एन्युरिज्म’ अर्थात् कार्डियाक अरेष्ट भएको थियो । यो अवस्था त्यस्तो हो, जब मुटुको चाल अचानक बन्द हुन्छ र शरीरका अङ्गहरूमा रगतको प्रवाह रोकिन्छ ।
डा. भट्टराईका अनुसार, कार्डियाक अरेष्टमा मुटुले रगत पम्प गर्न छाड्छ, जसले गर्दा मस्तिष्क र शरीरका अङ्गहरू अक्सिजनविहीन हुन्छन् । बिरामी केही सेकेन्डमै बेहोश भएर ढल्छ ।
कार्डियाक अरेष्ट के हो ?

‘भेन्ट्रिकुलर एन्युरिज्म’ मुटुको चाल अनियमित वा असामान्य हुँदा देखिने अवस्था हो । मुटुमा रक्त प्रवाह एक्कासि रोकिँदा शरीरले अक्सिजन पाउँदैन र बिरामी तत्काल बेहोश हुने वा मृत्यु हुने सम्भावना रहन्छ ।

डा. भट्टराई भन्छन्, ‘यस्तो अवस्थामा यदि तुरुन्त सीपीआर (कार्डियो पल्मोनरी रिजसिटेशन) सुरू गर्न सकियो भने बिरामीको ज्यान बचाउन सकिन्छ । तर, गौतमलाई अस्पताल ल्याउँदासम्म ढिलो भइसकेकाले जोगाउन सकिएन ।’

किन हुन्छ यस्तो समस्या ?

मुटुरोग पहिलेदेखि भएका वा पारिवारिक इतिहासमा मुटुसम्बन्धी समस्या रहेका व्यक्तिहरूमा यस्तो अवस्था आउने सम्भावना बढी हुन्छ । उमेर बढ्दै जाँदा रक्तनली साँघुरो हुनु, उच्च रक्तचाप, मुटुको कमजोरी वा तनाव र अत्यधिक शारीरिक थकानले पनि यस्तो अवस्था निम्त्याउन सक्छ ।

डा. भट्टराईका अनुसार, कहिलेकाहीँ हार्टअट्याककै कारण पनि कार्डियाक अरेष्टको अवस्था आउन सक्छ ।
उनी भन्छन्, ‘मुटुको चाल बिग्रनासाथ रगत पम्प गर्न नसक्दा शरीरका अङ्गहरू अक्सिजनविहीन हुन्छन् । त्यसैले मानिस एक्कासि बेहोश भएर ढल्छ ।’
बच्ने उपाय र सल्लाह
चिकित्सकहरूका अनुसार, यस्तो आकस्मिक अवस्थाबाट बच्नका लागि नियमित मुटु परीक्षण, तनाव नियन्त्रण र स्वस्थ जीवनशैली अत्यावश्यक छ ।
डा. भट्टराईले भने, ‘३५ वर्ष नाघेका सबैले हरेक वर्ष मुटुको परीक्षण गर्नुपर्छ । नियमित स्वास्थ्य परीक्षणले हृदयघात र कार्डियाक अरेष्टजस्ता अवस्थाबाट बच्न मद्दत गर्छ ।’
उनी थप्छन्, ‘यदि कोही एक्कासि ढले भने तुरुन्त सीपीआर सुरू गर्न सक्नुपर्ने जागरुकता सबैमा हुनुपर्छ । प्रारम्भिक पाँच मिनेटभित्र सीपीआर सुरू गर्न सके बिरामीको ज्यान बच्ने सम्भावना धेरै हुन्छ ।’
नेता कमल गौतमको मृत्युले फेरि एकपटक कार्डियाक अरेष्ट र मुटु स्वास्थ्यप्रति चेतना बढाउनुपर्ने आवश्यकता देखाएको छ ।
चिकित्सकहरू भन्छन्, ‘मुटुको चाल बन्द हुने अवस्था रोक्न सकिन्छ, तर ढिला भयो भने बच्न गाह्रो हुन्छ ।’
FACEBOOK COMMENTS