काठमाठौं । नेकपा माओवादी केन्द्र र गोपाल किराँतीको नेतृत्वको देशभक्त समाजवादी मोर्चाबीच एकता भएको छ । सोमबार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराँतीबीच एकताको तीन बुँदे सहमति भएको हो ।
सहमतिमा विगतमा भए गरेका वैचारिक–राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने, गोपाल किरातीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने र सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा माक्र्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने बुँदा रहेका छन् ।
दुवै पार्टीले स्वदेश तथा विदेशमा संघर्षरत नेपाली वर्ग (मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित तथा विस्थापितवर्ग), लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरु र पहिचानसहित प्राकृतिक तथा सांस्कृतिक सम्पदा रक्षा आन्दोलनवीच समाजवादी ध्रुवीकरण बढाएर नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता, सम्प्रभुता सुदृढीकरणमा पहलकदमी लिँदै नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको कठोरतापूर्वक रक्षा र अभ्यास मार्फत संविधानको समाजवाद उन्मुख राज्य–व्यवस्था कार्यान्वयनमा प्रभावकारी पहलद्वारा दलाल तथा नोकरशाही पूँजीवादी भ्रष्ट शासन अन्त्य गरिछाड्ने संकल्पमा जुट्न जेड पुस्ताका युवाहरुसहित सबैसँग आह्वान गरेका छन् ।
FACEBOOK COMMENTS