काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ध्रुव थापाले लामो समयदेखि विवादको श्रृङ्खलाबाट अघि बढिरहेको विद्युत् महसुल विवाद अब भने अन्त्य हुने दिशातर्फ अघि बढेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय टेकुमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल उद्योग वाणिज्य महासंघलको पहलमा डेडिकेटेड फिडर र ट्रङ्कलाइन सुविधाबापतको महसुल विवादले दीर्घकालीन समाधानको बाटो पहिल्याएको बताएका हुन् ।
‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन महसुल विवादलाई निकास दिन नेपाल उद्योग वाणिज्य महासंघ र अध्यक्ष चन्द्र ढकालज्यूले गर्नुभएको पहल सराहनीय छ,’ उनले भने, ‘यसले दीर्घकालीन समाधान दिने बाटो समातेको छ । छिट्टै समाधान हुने छ ।’
देशको विकसित पछिल्लो अवस्थाकाबीच २५ वटा उद्योगको लाइन काटिँदा अन्योल र अन्धकारको अवस्था बनेको, मुलुकको अर्थतन्त्रलाई क्षति पुगिरहेको, बिजुली खेर गइरहेको, मजदुरहरू बेरोजगारतर्फ उन्मुख भइरहेको अवस्थामा महासंघले लिएको पहलको थापाले मुक्तकण्ठले प्रशंसा गरे । जेन जी आन्दोलनले भन्दा पनि उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गरिएपछिको पछिल्लो १५ दिनले उद्योगीहरूलाई भयावह अवस्थातिर लगिरहेको र अझै २/४ दिन लम्बिने हो भने झन् भयावह हुने उनको भनाइ थियो ।
‘हाम्रो यो अन्तिम माग र निराकरण त होइन, तर आजको जटिल स्थितबाट बाहिर निक्सिनका लागि यो राम्रो कुरा भएको छ,’ पूर्व अध्यक्ष थापाले भने, ‘हामीले त पुनरवलोकन प्रक्रियालाई जारी राखेर लाइन जोडियोस् भन्ने चाहेका थियौ, तर हामीले भनेको मात्रै सबै हुँदैन ।’

अब यो सहमति कार्यान्वयनमा आउँदा महसुल विवाद धेरै हदसम्म समाधान हुने र प्राधिकरणको कदमप्रति चित्त नबुझाउने उद्योगीहरूले कानुनी उपचारमार्फत यो समस्याको समाधान निकाल्ने विश्वास उनले व्यक्त गरे ।

‘जोजसको जति–जति विवादिन रकम छ त्यसलाई २८ भागमा विभाजित गरिएको छ । त्यसमध्ये एक भाग रकम धरौटीस्वरुप विद्युत् प्राधिकरणको धरौटी खातामा जम्मा गर्ने, प्राधिकरणले तुरुन्त लाइन जोडिदिने, रद्द भएको पुनरवलोकन प्रक्रियालाई निरन्तरता दिने र त्यसबाट जतिसक्दो चाँडो अर्धन्यायिक निर्क्योल निकालिदिने, त्यसबाट चित्त बुझे बुझिहाल्छ, नबुझने उद्योगहरूले अदालतको प्रक्रियामा जाने छन् र यसको अन्तिम निर्णय अदालतबाट हुने छ,’ उनले भने ।

हेर्नुहोस् भिडिओ—

FACEBOOK COMMENTS