काठमाडौं । टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य वरिष्ठ इजरायली अधिकारीहरूविरुद्ध गाजा नरसंहारको आरोपमा पक्राउ पूर्जी जारी गरेको छ ।
शुक्रबार इस्तानबुल अभियोजकको कार्यालयले जारी गरेको वक्तव्यअनुसार, पक्राउ पूर्जी जारी गरिएका ३७ जना संदिग्धहरूको सूचीमा इजरायलका रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गवीर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरलगायत उच्च पदस्थ अधिकारीहरू समावेश छन् । यद्यपि, अभियोजकको कार्यालयले सम्पूर्ण सूची सार्वजनिक गरेको छैन ।
टर्कीले इजरायली अधिकारीहरूलाई अक्टोबर २०२३ देखि गाजामा इजरायलले व्यवस्थित रूपमा गरेको नरसंहार र मानवताविरुद्धका अपराधहरूमा संलग्न भएको आरोप लगाएको छ ।
“१७ अक्टोबर २०२३ मा अल–अहली ब्याप्टिस्ट अस्पतालमा भएको आक्रमणमा ५०० जनाको ज्यान गएको थियो । २९ फेब्रुअरी २०२४ मा इजरायली सैनिकहरूले जानाजानी स्वास्थ्य उपकरणहरू नष्ट गरे,” वक्तव्यमा भनिएको छ, “गाजालाई नाकाबन्दीमा राखे र पीडितहरूलाई मानवीय सहायताबाट वञ्चित गरे ।” इजरायलले टर्कीको यो कदमलाई ‘पब्लिक रिलेशन स्टन्ट’ भन्दै आलोचना गरेको छ ।
इजरायलका विदेश मन्त्री गिदोन सारले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, “इजरायल निरंकुश राष्ट्रपति रेचेप तैयप एर्दोगानको पछिल्लो पीआर स्टन्टलाई घोर निन्दासहित दृढतापूर्वक अस्वीकार गर्दछ ।”

प्यालेस्टिनी समूह हमासले भने टर्कीको घोषणाको स्वागत गरेको छ । हमासले यसलाई प्रशंसनीय कदम भन्दै भनेको छ, “यसले टर्कीका जनता र नेताहरूको निष्कपट अडानलाई पुष्टि गर्छ, जो न्याय, मानवता र भ्रातृत्वका मूल्यप्रति प्रतिबद्ध छन् र हाम्रो उत्पीडित प्यालेस्टिनी जनतासँग ऐक्यबद्ध छन् ।”

टर्कीको यो घोषणा अन्तर्राष्ट्रिय फौजदारी अदालतले नेतन्याहू र उनका तत्कालीन रक्षामन्त्री योआव ग्यालन्टविरुद्ध कथित युद्ध अपराधको अभियोगमा पक्राउ पूर्जी जारी गरेको झन्डै एक वर्षपछि आएको हो ।
गत वर्ष टर्कीले दक्षिण अफ्रिकाद्वारा दायर इजरायलविरुद्धको नरसंहारसम्बन्धी मुद्दामा पनि समर्थन जनाएको थियो ।

अक्टोबर २०२३ देखि गाजामा इजरायलले सञ्चालन गरेको आक्रमणमा कम्तीमा ६८ हजार ८७५ प्यालेस्टिनीको मृत्यु भएको छ । एक लाख ७० हजार ६७९ जना घाइते भएका छन् । अलजजिरा

FACEBOOK COMMENTS