काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल’ नामको राजनीतिक दल खोल्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएर अघि बढ्ने मनस्थितिमा रहेका मन्त्री घिसिङलाई अस्वीकार गरिएपछि आफ्नै दल बनाउन लागेका हुन् ।
स्रोतका अनुसार पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा दर्ता गर्ने तयारी गरिएको उज्यालो नेपाल दलको चुनाव चिह्न बिजुलीको चिम राखिने भएको छ ।
यसअघि कुलमानले कार्यकारी सभापतिको जिम्मेवारी पाए रास्वपामा समाहित हुने मनसाय राखेका थिए । तर, लामो छलफलबाट रास्वपामा रवि लामिछानेबाहेक तत्काल कोही पनि व्यक्तिलाई सभापति वा कार्यकारी सभापति बनाउन नसकिने निष्कर्ष निकालिएपछि घिसिङले आफ्नै नेतृत्वमा रहनेगरी नयाँ दल गठन गर्ने प्रक्रियामा अघि बढेका हुन् ।
अहिले पनि पार्टीको भावी कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । घिसिङलाई समर्थन गर्दै आएको समूह उज्यालो अभियानले गत साउनमै उज्यालो नेपाल नामक दल निर्वाचन आयोगमा दर्ता गरिसकेको छ । सोही दलको परोक्ष नेतृत्व कुलमानले लिने गरी तयारी भइसकेको स्रोतको दाबी छ ।

सुदन र सुमनाले कुलमानलाई किन पत्याएनन् ?

रास्वपासँग सहमति जुट्न नसकेपछि कुलमान घिसिङ, सुदन गुरुङ, रास्वपा छाडेकी पूर्वमन्त्री सुमना श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायतले संयुक्तरूपमा ‘जनसेवा पार्टी’ गठन गर्ने सहमति गरेका थिए । तर, उक्त सहमतिसमेत केही घण्टामै ढिसमिस भएपछि कुलमानले उज्यालो नेपाल पार्टी गठन गर्न लागेका हुन् ।

सुमनाले पदाधिकारीमा महासचिव दाबी गरेकी थिइन् । तर, नयाँ पार्टीका तत्काल कसैलाई पदाधिकारी नराख्ने भएपछि उनी पनि हटेको बताइएको छ । सुमना पछि हटेसँगै सुदनले पनि अर्कै दल दर्ताको तयारी गरिरहेका छन् ।

फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समयावधि अब ६ दिनमात्र बाँकी छ ।
FACEBOOK COMMENTS