काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मध्यरातमा पक्राउ गरिएपछि सरकारको आलोचना बढेको छ । अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शनको अधिकार हनन् हुने गरी सरकारले प्रसाईंलाई पक्राउ गरेको कतिपयको आरोप छ ।
गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलन दबाउन गोली चलाएर युवाहरूको हत्या गर्नेहरूलाई कारबाही गर्न नसकिरहँदा प्रसाईंलाई पक्राउ गरेर सरकारले तमासा देखाएको राजनीतिक विश्लेषक प्रकाश रायमाझी बताउँछन् ।
छिमेकी बङ्गलादेशमा विद्यार्थी आन्दोलन दबाउने पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको उदाहरण दिँदै रायमाझीले नेपालमा गोली चलाउन आदेश दिनेहरू गर्वले छाती पिट्दै हिँडिरहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा रायमाझीले लेखेका छन्–
कायर कठपुतली सुशीला कार्कीको सरकारले दुर्गा प्रसाईंलाई मध्यरातमा पक्राउ गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने विरोध प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकार खोसेको छ । देश विखण्डनको आवाज उठाउनेहरूलाई कारबाही गर्न नसक्ने निकम्मा सरकारले दुर्गा प्रसाईंलाई पक्राउ गरेर तमासा देखाएको छ । जेन जी आन्दोलनकारीलाई छानीछानी पक्राउ गरेर मुद्दा चलाइरहेको छ । जेन जी आन्दोलनमा हिंसा भड्काउने सुशीला कार्कीसहितका व्यक्तिहरू सरकारमा छन् । आन्दोलनमा सुशीलाको भूमिका के थियो ?

उता जेन जी आन्दोलन दबाउने व्यक्तिहरूलाई कानुनी कठघरामा ल्याउन यो सरकारले किन सकेन ? आन्दोलनमा मारिएका ती युवाहरूको रगतले यो सरकारलाई पोल्दैन ? निर्वाचन जेन जीको माग थियो ? बङ्गलादेशमा विद्यार्थी आन्दोलन दबाउनेलाई मृत्युदण्डको सजाय सुनाएको छ भने यहाँ गोली हान्न आदेश दिनेहरू छाती पिट्दै गौरव गर्छन् । हत्यारालाई किन कारबाही गर्न सक्दैन ?

FACEBOOK COMMENTS