काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता दुर्गा प्रसाईँलाई भेट गरेको छ ।
मंगलबार आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी दुर्गा प्रसाईँ र सम्बन्धित प्रहरी अधिकारीहरुसँग भेट गरी जानकारी लिएको हो ।
प्रसाईँलाई गएराती निजको भक्तपुरस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको, प्रहरी प्रतिवेदनअनुसार सार्वजनिक शान्तिसुरक्षा विरुद्धको अनुसन्धानका लागि पक्राउ गरिएको भनी निजलाई पक्राउ तथा थुनुवा पूर्जी दिइएको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।
आयोगले भनेको छ– ’बदलिँदो राजनीतिक परिस्थिति र चुनावको घोषणा समेत भैसकेको सन्दर्भमा देशमा शान्तिसुरक्षा र अमनचयन कायम राख्नु सरकारको प्रमुख प्राथमिकता हुन्छ । शान्ति सुरक्षा कायम गर्ने विषय सरकार र सुरक्षा निकायको मात्र जिम्मेवारी नभई हरेक नागरिकको समेत भएको हुँदा शान्तिसुरक्षाको कार्यमा सहयोग गर्नु नागरिकको समेत कर्तव्य हुन जान्छ ।’
त्यस्तै आयोगले कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई निर्देशन गरेको छ । साथै, आयोगले देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह समेत गरेको छ ।

FACEBOOK COMMENTS