काठमाडौं । पृथ्वी राजमार्ग आजदेखि मंसिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ ।
पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रिडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।
सडक अयोजनाले दैनिक चार घण्टा सडक पूर्ण/आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न सूचना प्रकाशित गरेर आग्रह गरिएको छ ।
त्यस्तै अवस्था हेरेर प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिने पनि जानकारी दिइएको छ ।

दुई पांग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको र ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुईतर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो ।



FACEBOOK COMMENTS