विराटनगर । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध विद्यार्थी रहेको खुलेको छ ।
आज बिहान प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका थिए । महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।
लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सन्जोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।
पक्राउ परेका गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् । उनी संस्थापनइतर समूहका हुन् । गौतमलाई डाक्टर शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेपाल विद्यार्थी संघ इकाइ सभापति पनि बनाएको थियो ।
नेविसघ महेन्द्र मोरङमा संस्थापन समूहको सभापति भने प्रशान्त यादव छन् ।अर्पित कुँवर पनि नेविसंघ निकट नै रहेको प्रहरी स्रोतले बताएको छ ।

बस्नेत सुनसरीको इटहरीमा आएपछि जेनजीहरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।

FACEBOOK COMMENTS