काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले (नाडा)ले आफ्ना सबै आयातकर्ता तथा व्यवसायीलाई युरो ६ मापदण्डअनुसार समयमै सवारीसाधान तथा पार्टपुर्जाको भन्सार जाँचपास गर्न अनुरोध गरेको छ ।
एक सूचना जारी गर्दै नाडाले तोकिएको मंसिर १५ को अवधिभित्र पुराना मापदण्डका सवारीसाधन तथा पार्टपुर्जा भन्सार पास गरिसक्न भनेको हो ।
नेपालमा युरो ६ सवारी प्रदूषण मापदण्ड औपचारिक रूपमा लागू भइसकेको अवस्थामा अर्थ मन्त्रालयले पुराना प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका तथा नेपालमै एसेम्बल वा उत्पादन हुने सवारीसाधनलाई मंसिर १५ गतेसम्म पुरानै मापदण्डअनुसार पैठारी र जाँचपास गर्न सकिने व्यवस्था गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले २०८२ असार ९ गते राजपत्रमार्फत् नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२ लागू गरेको थियो । तर, उद्योग तथा व्यवसायमा पर्ने तत्कालीन प्रभावका कारण अर्थ मन्त्रालयले असोज १० गते राजपत्रमार्फत विशेष अवधि दिएर पुराना मापदण्डमा आधारित सवारीसाधन तथा पार्टपुर्जा आयात गर्न अनुमति दिएको छ ।
नाडाले यो प्रावधान कार्यान्वयनका लागि वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग निरन्तर पत्राचार गरी आवश्यक पहल गरेको जनाएको छ।

नाडाले आफ्नो सूचनामा भनेको छ–

वन तथा वातावरण मन्त्रालयले मिति २०८२/०३/०९ को नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२ (युरो ६) लागू गरिसकेको सन्दर्भमा नेपाल सरकार, अर्थ मन्त्रालयले मिति २०८२ असोज १० गतेको नेपाल राजपत्रमार्फत् नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२ लागू हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारीसाधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारीसाधन तथा त्यस्ता सवारीसाधन उत्पादन गर्न आवश्यक पार्टपुर्जा प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारीसाधनको हकमा मिति २०८२ साल मंसिर १५ गतेसम्मका लागि पूर्ववत् मापदण्डअनुसारका सवारीसाधन वा पार्टपुर्जा पैठारी गर्न दिने निर्णय गरेको सर्वविदितै छ ।

सोही प्रावधानअनुसार सो तोकिएको समयावधिभित्र आफ्ना बाँकी रहेका सवारीसाधनहरूको पनि भन्सार जाँचपास गर्नुहुन समेत अनुरोध गर्दछौं । उक्त व्यवस्थाको लागि नाडाले वन तथा वातावरण मन्त्रालय तथा अर्थ मन्त्रालयमा पत्राचार गरी आवश्यक पहलसमेत गरेको व्यहोरा पनि जानकारी गराउन चाहन्छौं ।

FACEBOOK COMMENTS