काठमाडौं । संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै बुधबार भएको आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘थर्ड वर्ल्ड’ अर्थात् तेस्रो विश्वका मुलुकका नागरिकहरूलाई अमेरिका प्रवेशमा स्थायी रूपमा प्रतिबन्ध लगाउने बताएका छन् ।
यद्यपि, राष्ट्रपति ट्रम्पले ‘थर्ड वर्ल्ड’ मा कुन–कुन देश पर्छन् वा उनको यो घोषणा कुन–कुन देशमा लागू हुनेछ भन्ने कुरा स्पष्ट पारेका छैनन् ।
यस्तो अवस्थामा प्रश्न उठ्छ– आखिर ‘थर्ड वर्ल्ड’ भनेको के हो र यसमा कुन–कुन देश समावेश छन् ? के नेपाल पनि यसमा पर्छ ?
‘थर्ड वर्ल्ड’ को कुनै स्पष्ट भौगोलिक वा शाब्दिक परिभाषा छैन । यो शब्दावली सामान्यतया गरिब र पिछडिएका राष्ट्रहरूका लागि प्रयोग गरिन्थ्यो ।
बीसौं शताब्दीको उत्तरार्द्धमा विश्वका धेरै देशहरू युरोपेली उपनिवेशबाट स्वतन्त्र भइरहेका थिए । उक्त समयमा यो शब्द विशेष रूपमा प्रचलित भयो ।

‘तेस्रो विश्व’ शब्दावली ती राष्ट्रहरूका लागि प्रयोग गरियो, जो विश्वव्यापी औद्योगिक देशहरूलाई जोड्ने आर्थिक र राजनीतिक सम्बन्धहरूबाट बाहिर थिए । तीमध्ये धेरैजसो युरोपका पूर्व उपनिवेशहरू थिए ।

यद्यपि, मूल रूपमा ‘थर्ड वर्ल्ड’ वा ‘तेस्रो विश्व’ शब्दावली त्यस्ता देशहरूका लागि प्रयोग गरिएको थियो, जो शीतयुद्धको समयमा न त पश्चिमी पुँजीवादी गुटको हिस्सा थिए, न त सोभियत कम्युनिस्ट गुटको ।

एकातर्फ अमेरिकाको नेतृत्वमा ‘पहिलो विश्व’ थियो, अर्कोतर्फ सोभियत सङ्घको नेतृत्वमा ‘दोस्रो विश्व’ र यी दुवैको दायराभन्दा बाहिर ‘तेस्रो विश्व’ उदाउँदै थियो ।

यद्यपि, पछि गएर ‘थर्ड वर्ल्ड’ त्यस्ता देशहरूका लागि प्रयोग गरियो जो गरिब, विकासमा पछाडि परेका वा विकासशील थिए ।

सबैभन्दा पहिले फ्रान्सेली जनसाङ्ख्यिकविद् (मझयनचबउजभच) अल्फ्रेड सोभीले सन् १९५२ मा ‘थर्ड वर्ल्ड’ शब्दावलीको प्रयोग गरेका थिए ।
एउटा लेखमा उनले थर्ड वर्ल्ड भनेका उपेक्षित, तिरस्कृत, शोषित, ‘थर्ड स्टेट’ (केही बन्न चाहने) देशहरूलाई भनिने उल्लेख गरेका थिए ।
जनसाङ्ख्यिकविद् तथा अर्थशास्त्री अल्फ्रेड सोभीले पहिलो पटक ‘थर्ड वर्ल्ड’ शब्दको प्रयोग गर्दै ‘थर्ड स्टेट’ (किसान, मजदुर, सामान्य जनता) को सन्दर्भ दिएका थिए, जो ‘फर्स्ट स्टेट’ (पादरीहरू) र ‘सेकेन्ड स्टेट’ (सामन्त/कुलीन वर्ग) द्वारा शोषित र वञ्चित थिए ।
एक हिसाबले उनले शोषित र वञ्चित देशहरूका लागि ‘थर्ड वर्ल्ड’ शब्दको प्रयोग गरेका थिए । त्यस्ता देशहरू जो शोषित र वञ्चित त थिए, तर अगाडि बढ्न चाहन्थे ।
यद्यपि, आजको समयमा ‘थर्ड वर्ल्ड’ देशहरूप्रतिको परिभाषा र बुझाइ फेरिएको छ । वर्तमानमा राजनीतिक र आर्थिक सन्दर्भमा ‘थर्ड वर्ल्ड’ शब्दको प्रयोग कमै गरिन्छ ।
अहिले यस्ता देशहरूको सन्दर्भमा ‘ग्लोबल साउथ’, ‘विकासशील देश’ वा ‘निम्न एवम् मध्यम आय भएका देश’ जस्ता वाक्यांशहरूको प्रयोग गरिन्छ ।
वर्तमानमा कुनै पनि देशका लागि ‘थर्ड वर्ल्ड’ शब्दको प्रयोगलाई अपमानजनक मानिन्छ ।
सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भनेका थिए, ‘थर्ड वर्ल्ड शब्दावली पुरानो भइसक्यो र यो अपमानजनक छ । अब हामी विकासशील देशहरू वा ग्लोबल साउथको कुरा गर्छौं ।’
सामान्यतया यसमा ती देशहरूलाई समावेश गरिन्छ, जसको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कम छ, गरिबीको दर उच्च छ, औद्योगिक संरचना कमजोर छ, राजनीतिक अस्थिरता छ र अर्थतन्त्र कच्चा पदार्थ, कृषि उत्पादन, खनिजजस्ता प्राथमिक वस्तुहरूको निर्यातमा केन्द्रित छ ।
यद्यपि, विज्ञहरूले ‘थर्ड वर्ल्ड’लाई आर्थिकभन्दा पनि राजनीतिक अवधारणा मान्दै आएका छन् ।
अमेरिकी समाजशास्त्री, लेखक तथा प्राध्यापक इरभिन लुई होरोविट्जले आफ्नो पुस्तक ‘थ्री वर्ल्ड्स अफ डेभलपमेन्ट : द थ्योरी एण्ड प्राक्टिस अफ इन्टरनेशनल स्ट्रेटिफिकेशन’मा लेखेका थिए, ‘थर्ड वर्ल्ड’ एक राजनीतिक अवधारणा हो, आर्थिक होइन । यसले ती देशहरूलाई जनाउँछ जो शीतयुद्धका बेला तटस्थ (गुटनिरपेक्ष) रहे ।’
त्यस्तै, सन् १९७० को दशकमा विश्व बैंकका अर्थशास्त्री होलिस चेनेरीले लेखेका थिए, ‘तेस्रो विश्व शब्दावलीले आफ्नो उपयोगिता गुमाइसकेको छ । यसले दक्षिण कोरियाजस्ता उन्नत देशहरू र सोमालियाजस्ता असफल राज्यहरूलाई एकै ठाउँमा ल्याइदिन्छ ।’
आजको समयमा कुनै पनि देशका लागि ‘थर्ड वर्ल्ड’ शब्द प्रयोग गर्नु अपमानजनक मानिन्छ । अचेल कुनै देशलाई या त ‘विकासशील’ भनिन्छ या त ‘फ्रन्टियर’ ।
विकासशील ती राष्ट्रहरू हुन् जो जनताको जीवनस्तर सुधार्नका लागि शिक्षा, स्वास्थ्य र व्यापारजस्ता पूर्वाधार बलियो बनाउन तत्पर रहन्छन् । त्यस्तै, ‘फ्रन्टियर’ ती राष्ट्र हुन् जो भर्खरै यो फ्रक्रियाको सुरूआत गर्दैछन् ।
संयुत्त राष्ट्रसङ्घले केही राष्ट्रहरूलाई ‘अति कम विकसित’ (विगतमा चौथो विश्व) पनि भन्ने गर्छ । यी यस्ता देशहरू हुन् जो विश्वव्यापी आर्थिक प्रणाली, प्रविधि र राजनीतिबाट अलगथलग छन् ।
विश्वलाई आर्थिक–राजनीतिक आधारमा वर्गीकरण वा विभाजन गर्न धेरै किसिमका शब्दावली प्रयोग हुँदै आएका छन् ।
जस्तैः ‘फर्स्ट वर्ल्ड’ (पहिलो विश्व) आर्थिक रूपमा बलिया देशहरूका लागि प्रयोग हुँदै आएको छ ।
फर्स्ट वर्ल्डमा सामान्यतया ती पुँजीवादी देशहरूलाई समावेश गरिन्छ जो अत्यधिक औद्योगिक छन् । यद्यपि, यो शब्द पनि अब पुरानो भइसकेको छ, तर यदि आज फर्स्ट वर्ल्ड देशहरूको सूची बनाउने हो भने त्यसमा जापान, उत्तर अमेरिका र पश्चिमी युरोपका देशहरू पर्न सक्छन् ।
यसमा केही पूर्वी युरोपेली देश, दक्षिण अमेरिकी देश र एसियाली देशहरूलाई पनि समावेश गर्न सकिन्छ ।
यस्तोमा वर्तमान सन्दर्भमा ‘थर्ड वर्ल्ड’ देशहरू कुन हुन सक्छन् त ?
‘तेस्रो विश्व’ अब अप्रचलित र अपमानजनक अवधारणा हो । तर, मौजुदा आर्थिक परिदृश्यमा हेर्ने हो भने यसमा निम्न आय वर्ग वा अति कम विकसित देशहरूलाई समावेश गर्न सकिन्छ ।
हाल संयुक्त राष्ट्रसङ्घको ‘अति कम विकसित देशहरू’ को सूचीमा ४४ देश समावेश छन् । यीमध्ये ३२ देश अफ्रिकाका छन् ।
अफ्रिकी देशहरू (३२) : अङ्गोला, बेनिन, बुर्किना फासो, बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, कोमोरोस, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, जिबुटी, इरिट्रिया, इथियोपिया, गाम्बिया, गिनी, गिनी–बिसाउ, लेसोथो, लाइबेरिया, मेडागास्कर, मलावी, माली, मौरिटानिया, मोजाम्बिक, नाइजर, रुवान्डा, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, टोगो, युगान्डा, तान्जानिया, जाम्बिया ।
एसिया (८) : अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओ पीडीआर, म्यानमार, नेपाल, टिमोर–लेस्ते, यमन ।
क्यारेबियन (१) : हाइटी
प्रशान्त (३): किरिबाटी, सोलोमन टापु, तुभालु ।
–बीबीसीबाट
FACEBOOK COMMENTS