काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बुधबारदेखि बसेको केन्द्रीय समितिको बैठक विभन्न निर्णय गर्दै शुक्रबार सकिएको हो । बैठकले वर्तमान संविधान र संवैधानिक व्यवस्था र यो संविधान ल्याउने र पछ्याउने नेता र दलहरू समेत असफल साबित भएको निष्कर्ष निकालेको छ ।
साथै बैठकले असफल संविधान र संवैधानिक व्यवस्थाबाट मुलुकलाई जबरजस्त अगाडि बढाउने कोसिस गर्नु , राजनीतिक समस्याको समाधान नगरिकन र जेनजीको माग सम्बोधन नगरी आमनिर्वाचनमा जानु भनेको मुलुकलाई थप द्वन्दमा धकेल्नु हो भन्ने राप्रपाले ठहर गरेको छ ।
२- नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाको निर्वाचनका लागि बर्दिया-२ बाट आरजुको नाम सिफारिस गरिएको हो। यस्तै बर्दियाको क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिकतर्फ निवर्तमान पार्टी उपसभापति मिश्रीलाल यादवको नाम सिफारिस गरिएको छ । यस्तै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस बर्दियाका पार्टी सभापति अरुण प्रकाश सिंह राठौरको सिफारिस गरिएको छ । यसअघि आरजुको नाम कैलाली- ५ बाट पनि सिफारिस गरिएको छ ।

३- प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लिला बहादुर खनाल क्षेत्रीलाई जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक-एक जना महासेनानी तथा प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

४- नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायले छुट जग्गा दर्ताका लागि एक लाख रुपैयाँ लिएको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सोहि बराबरको रकम बिगो माग गर्दै कानुन अनुसार सजाय हुनुपर्ने भन्दै शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

५- नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार जान कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ । शुक्रबार मन्त्री बन्नेमध्ये इङ्नाम अधिवक्ता हुन् । त्यस्तै चौलागाईं पेसाले जनस्वास्थ्यविद् हुन् । उनले कर्णालीबारे ‘सपादलक्ष कर्णाली’ नामक पुस्तक लेखेका छन् । त्यस्तै भण्डारी पूर्वएआईजी र श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वकर्मचारी हुन् ।
६- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार शाहको मुद्धामा प्रतिकुल बकपत्र गरेको आरोपमा जसोधा कुमारीविरुद्ध मुद्धा दायर भएको छ । अख्तियारले शुरुमा दिएको बयानको प्रतिकुल हुने गरि बकपत्र दिएको आरोपमा कल्याणपुरकै जसोधाविरुद्ध एक लाखको बिगो माग गरि विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको हो ।अख्तियारले न्ग्स प्रमुखले नाला निर्माणको कामको भुक्तानी दिने प्रयोजनका लागि एक लाख घुस लिएको मुद्धामा जसोधाले बयानको प्रतिकुल बकपत्र गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ ।
७- पूर्व —पश्चिम राजमार्गको पथलैया—ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् । मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए । मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरीका थिए । मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए । उनले पुल नजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्ने उल्लेख गरे ।
पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती—हिराचन उपक्रम (जेभी) काठमाडौंको रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहनु भएका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए । चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती—हिराचन उपक्रम (जेभि)सँग २४ असार २०७५मा १७ करोड २२ लाख (कर सहित)मा ठेक्का समझौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नु पर्ने थियो । पछिल्लो म्याद थप बमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नु पर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।
८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार शाहको मुद्धामा प्रतिकुल बकपत्र गरेको आरोपमा जसोधा कुमारीविरुद्ध मुद्धा दायर भएको छ । अख्तियारले शुरुमा दिएको बयानको प्रतिकुल हुने गरि बकपत्र दिएको आरोपमा कल्याणपुरकै जसोधाविरुद्ध एक लाखको बिगो माग गरि विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको हो । अख्तियारले न्ग्स प्रमुखले नाला निर्माणको कामको भुक्तानी दिने प्रयोजनका लागि एक लाख घुस लिएको मुद्धामा जसोधाले बयानको प्रतिकुल बकपत्र गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ ।
९- नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । महाधिवेशनको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्च निर्माण र व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र आज साँझसम्म सम्पूर्ण काम सकिने जानकारी दिए ।
जनपरिचालनका सञ्चालक डा. राजन भट्टराईले महाधिवेशनका लागि नयाँ कलात्मक शैलीको मञ्च निर्माण गरिएको बताए । झन्डै ३ लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने दावी गर्दै उनले कार्यक्रममा सहभागी हुन आउने नेता तथा कार्यकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए ।
नेता भट्टराईका अनुसार दुई सय बढी नेपाली संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुनेछ । यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति २४ वटा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा रहनेगरी व्यवस्था गरिएको जानकारी दिए । जनसभालाई व्यवस्थित बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने बताउदै ढकालले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।
१०- नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि २१ जना र प्रहरी सहायक निरीक्षक पदका लागि ४ सय ३८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।
प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको अनलाइन भर्ना सिस्टममार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी निरीक्षक पदको लागी पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् भने प्रहरी सहायक निरीक्षक पदको लागी पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् । दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।
११- भारतका पूर्व क्रिकेटर सुनील गावस्करले दायर गरेको निवेदनमा दिल्ली उच्च अदालतले सामाजिक सञ्जाल कम्पनीहरू गुगल, मेटा र एक्सलाई निर्देशन जारी गरेको छ । लाइभ ल एण्ड बार एण्ड बेन्चका अनुसार, गावस्करले आफ्नो छवि प्रयोग गरेर नक्कली सामग्री पोस्ट गरिएको आरोप लगाउदै कम्पनीहरूलाई यसलाई हटाउन निर्देशन दिन निवेदन दिएका थिए । निवेदनमा सामग्रीमा उनको छवि र नामको दुरुपयोग भइरहेको र यसले उनको व्यक्तित्व अधिकारको उल्लङ्घन गरेको उल्लेख थियो । न्यायाधीश मनमीत प्रीतम सिंह अरोराले गावस्करलाई ४८ घण्टा भित्र कम्पनीहरूलाई त्यस्ता सामग्रीको यूआरएल उपलब्ध गराउन निर्देशन दिए र सात दिन भित्र उजुरीकर्ताको उजुरीमा कारबाही गर्न निर्देशन दिएका छन् । गावस्करले वर्तमान भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीर र अन्य क्रिकेटरहरूलाई लक्षित गरेर टिप्पणी गरेको झुटो खबर फैलाइएको थियो । यद्यपि, अदालतले पहिले मध्यस्थकर्ताहरूलाई सम्पर्क गर्न र त्यसपछि अदालतले यस विषयलाई अझ बिस्तृतमा हेर्ने बताएको छ ।
१२- पाल्पाको निस्दी गाउँपालिकास्थित निस्दी ४ मित्यालमा जिप दुर्घटना हुँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको छ । पाल्पा प्रहरीका अनुसार पाल्पाको मित्यालदेखि नवलपुर जिल्लाको लागि छुटेको लु १ ज ३९०८ नम्बर को फोर्स जिप झन्डै ६ सय मिटर तला खोल्सामा खसेको हो । जीपमा रहेका पाँच जना घाइतेको उद्धार गरि रामपुर अस्पताल पठाइएको छ । घाइतेको स्थानिय र मित्याल प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार जारी राखेका छन । दुर्घटना भएको स्थल आग्लो भिर भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।
१३- थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले संसद भंग गरेका छन् । ४५ देखि ६० दिन भित्र देशमा आम चुनाव गराउने घोषणा गर्दै प्रधानमन्त्री चार्नविराकुलले संसद भंगगरेका हुन् । शुक्रबार जारी गरिएको एक आदेशमा, प्रधानमन्त्री चार्नविराकुलले उनको अल्पसंख्यक सरकारले तीन महिना अघि सत्तामा आएदेखि सीमामा भएका घातक झडपहरू सहित धेरै चुनौतीहरूको सामना गरेको उल्लेख गरेका छन् ।
उनले भने- ‘उपयुक्त समाधान भनेको संसद भंग गर्नु हो, जुन जनतालाई राजनीतिक शक्ति फिर्ता गर्ने तरिका हुनेछ ।’ व्यापारीबाट राजनीतिज्ञ बनेका अनुतिन अगस्ट २०२३ पछि थाइल्याण्डका तेस्रो प्रधानमन्त्री भएका छन् । सेप्टेम्बरमा सत्तामा आएपछि, उनले जनवरीको अन्त्यसम्ममा संसद भंग गर्ने वाचा गरेका थिए । हाल छिमेकी देश कम्बोडियासँग तनाव भइरहेको बेला थाइल्याण्डम संसद भंग गरिएको छ ।
१४- गोवा नाइटक्लब ‘बर्च बाई रोमियो लेन’ आगलागी प्रकरणका मुख्य अभियुक्त सौरभ लुथरा र गौरव लुथरालाई थाइल्याण्डबाट भारत सुपुर्दगी गर्ने प्रक्रिया सुरु भएको छ । थाई प्रहरीले बिहीबार फुकेटमा दुवै भाइहरूलाई हिरासतमा लिएको थियो । थाई प्रहरीले अब उनीहरूलाई बैंकक पुर्याउँदैछ । भारतीय एजेन्सीहरूले उनीहरूलाई सुवर्णभूमि विमानस्थलमा हिरासतमा लिनेछन् । त्यसपछि उनीहरूलाई सुआन फु अध्यागमन हिरासत केन्द्रमा लगिने बताइएको छ ।
उनीहरूको राहदानी रद्द भएकाले, भारतीय दूतावासले उनीहरूलाई आपतकालीन यात्रा प्रमाणपत्र जारी गर्नेछ । थाइल्याण्डबाट गोवामा कुनै सिधा उडान नभएकोले, लुथरा दाजुभाइहरूलाई बैंककबाट दिल्ली र त्यसपछि गोवा लगिनेछ । यो सम्पूर्ण प्रक्रिया लगभग चार दिन लाग्ने बताइएको छ । उनीहरू सोमबारसम्म दिल्ली आइपुग्ने अपेक्षा गरिएको छ। आइपुगेपछि, गोवा प्रहरीले उनीहरूलाई हिरासतमा लिनेछ । डिसेम्बर ६ मा बिर्च नाइटक्लबमा भएको आगलागीमा २५ जनाको मृत्यु भयो । यस घटनामा पाँच नेपालीको पनि मृत्यु भएको थियो । घटनापछि, क्लबका मालिक दाजुभाइ भारतबाट भागेर थाइल्याण्ड पुगेका थिए ।
थाई प्रहरीले उनीहरूलाई फुकेटको एक होटल कोठामा हिरासतमा राखेको थियो । क्लबमा आगलागी भएपछि अग्नि नियन्त्रक टोलीहरू आगो नियन्त्रण गर्न र भित्र फसेका मानिसहरूलाई उद्धार गर्न प्रयास गरिरहेको समयमा नै सौरभ र गौरव लुथ्राले थाइल्याण्डको लागि उडान टिकट बुक गरेको अनुसन्धानमा खुलेको छ । अधिकारीहरूले लुथ्रा दाजुभाइहरूले डिसेम्बर ६ मा बिहान १:१७ बजे अनलाइन ट्राभल कम्पनीको वेबसाइटमा लग इन गरेका थिए । उनीहरू बिहान ५:३० बजे इन्डिगोको उडान ६ इ १०७३ मा दिल्लीबाट फुकेटका लागि प्रस्थान गरे । गोवा प्रहरीले विदेश मन्त्रालय र सीबीआई मार्फत अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन (इन्टरपोल) लाई उनीहरूको गिरफ्तारीको लागि अपील गर्यो। त्यसपछि इन्टरपोलले उनीहरू विरुद्ध ब्लू कर्नर नोटिस जारी गरेको थियो । लुथ्रा दाजुभाइ, उनीहरूका व्यवसायिक साझेदार, प्रबन्धक र केही कर्मचारीहरू दिल्लीका बासिन्दा हुन् । त्यसैले, दिल्ली प्रहरीले अब गोवा प्रहरीसँगै आगलागीको घटनाको अनुसन्धान गरिरहेको छ र दिल्लीमा पनि मुद्दा दर्ता गरिएको छ ।
१५- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ को घरेलु बक्स अफिसमा शानदार कमाई जारी रहेको छ । धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार २८ करोड भारु कमाई गरेको थियो भने दोस्रो दिन शनिबार ३२ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले तेस्रो दिन आइतबार ४० करोड कमाई गरेको थियो भने चौथो दिन सोमबार २४.३० करोड र पाँचौं दिन मंगलबार २८.६० करोड कमाई गरेको थियो । त्यस्तै छैटौं दिन बुधबार २९.२० करोड कमाएको धुरन्धरले विहिबार २९.४० करोड कमाई गरेको छ ।
रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ । त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।
१६- नेकपा एमाले पोलिटब्युरो सदस्य दल बहादुर रानाले सक्रिय राजनीतिकबाट बिदा लिएको घोषणा गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत रानाले एमालेको राजनीतिक जीवनबाट बिदा लिएको घोषणा गरेका हुन् । दुईपटक प्रतिनिधीसभा सदस्य र एकपटक संबिधानसभा सदस्य गरी तिनै पटक प्रत्यक्ष निर्बाचनबाट निर्बाचित भएका रानाले भूमिसुधार तथा ब्यबस्थामन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।
रानाले मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अबस्था नभएकोले मङ्सिर २७-२९ सम्म काठमाडौँमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिबेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट बिश्राम लिने निर्णय गरेको बताएका छन् । राना २०३५-२०३६ सालदेखि कम्युनिष्ट पार्टीको शुभचिन्तक, समर्थक हुँदै तत्कालिन नेकपा मालेको सम्पर्कमा आएपछि युथ कम्युनिष्ट लिगमा संगठित भएर औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा आबद्ध भएका थिए ।
उनले भूमिगत कालमा दुई गुल्मी जिल्ला कमिटी प्रमुख, दुईपटक पाल्पा जिल्ला कमिटी सचिव, तत्कालिन लुम्बिनी अञ्चल समन्वय कमिटीको सदस्य तथा सह-ईन्चार्ज हुँदै बुटवलमा भएको नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिबेशन देखि केन्द्रिय कमिटीको सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह-ईन्चार्ज र नवौं राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय सदस्य तथा पोलिटब्युरो सदस्य हुँदै एघारौँ राष्ट्रिय महाधिबेशनामा आईपुग्दा हाल पोलिटब्युरो सदस्य तथा भूमिब्यबस्था विभाग ईञ्चार्जको रुपमा जिम्मेवारी बहन गरिरहेको थिए ।
१७- चितवनको भरतपुरमा क्रिकेट रंगशाला विवादमा मुछिएका कलाकार जोडी सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुर्मुस सुन्तलीले आफुहरु अमेरिका पुगेको जानकारी दिएका छन् । मिडिया र सामाजिक सञ्जालमा उनीहरु नेपालबाट अमेरिका भागेको भन्ने आशयको बहस शुरु भएपछि धुर्मुस सुन्तलीले ‘हाम्रो बकपत्र’ शिर्षकमा सामाजिक सञ्जालमा लामो फेहरिस्त लेख्दै आफुहरु छोरीको उपचारका लागि अमेरिका पुगेको जानकारी दिएका हुन् ।
बकपत्रमा धुर्मुस सुन्तलीले २०७२ सालको महाभूकम्पमा सामाजिक कर्ममा होमिएको देखि भरतपुर क्रिकेट रंगशालासम्मको विवरण उल्लेख गरेका छन् । उनीहरुले अहिले पनि १८ करोड ४३ लाख रुपैयाँ आर्थिक दायित्वको बोझ आफुहरुको टाउकोबाट नउत्रिएको उल्लेख गर्दै सरकारी कार्यालयदेखि अड्डा–अदालतहरुको चक्कर लाउँदा–लाउँदा हत्तु हैरान भएको र आफुहरु पूर्णरुपमा रित्तिएको उल्लेख गरेका छन् ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ३ हजार ५ सयले बढेर तोलाको २ लाख ५६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ३९०५ रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार चाँदी तोलाको ३८०५ मा कारोबार भएको थियो ।
१९- चीनको लिजियान-१ वाई ११ क्यारियर रकेट भनिने किनेटिका-१ ले नौ उपग्रहहरू सहित सफल प्रक्षेपण गरेको छ । जसमा संयुक्त अरब इमिरेट्स (युएई), इजिप्ट र नेपालका लागि तीन अन्तर्राष्ट्रिय उपग्रहहरू समावेश रहेका थिए । नौ उपग्रहहरूलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा पुर्याएपछि, प्रक्षेपण अभियानलाई पूर्ण सफलता घोषित गरिएको छ । रकेट विकासकर्ता चिनियाँ विज्ञान प्रतिष्ठान (कास) को स्वामित्वमा रहेका अधिकांश उपग्रहहरूले शहरी योजना, प्रकोप रोकथाम र न्यूनीकरण, जलस्रोत र मौसम विज्ञान लगायतका विषयमा अध्ययन गर्ने बताइएको छ ।
बुधबार मिसनमा प्रक्षेपण गरिएको अरब उपग्रह ८१३ कासको माइक्रोसेटेलाइटहरूको लागि सांघाई-आधारित इनोभेसन एकेडेमीद्वारा विकसित गरिएको थियो । यो एक हाइपरस्पेक्ट्रल अर्थ अवलोकन उपग्रह हो । यसले हाइपरस्पेक्ट्रल इमेजर, प्यान्क्रोमेटिक क्यामेरा, र वायुमण्डलीय ध्रुवीकरण सुधारक सहित प्राथमिक पेलोडहरू बोक्छ, साथै सम्बन्धित जमिन प्रणालीहरूको निर्माण पनि गर्दछ । परियोजनाको मुख्य उद्देश्य हाइपरस्पेक्ट्रल रिमोट सेन्सिङ क्षमताहरू निर्माण गर्नु हो, जसले गर्दा वातावरणीय अनुगमन र वैज्ञानिक अनुसन्धानमा मद्धत गर्दछ ।
बुधबार उडान अभियानमा लिजियान-१ रकेटमा सवार एसपीएनइएक्स उपग्रहलाई इजिप्टियन अन्तरिक्ष एजेन्सी र इजिप्टियन एकेडेमी अफ साइन्टिफिक रिसर्च एण्ड टेक्नोलोजीले संयुक्त रूपमा विकास गरेको थियो । स्लिपर्स २ स्याट (एस२एस) उपग्रह अन्तरिक्ष प्रतिष्ठान नेपाल र एमेच्योर रेडियो डिजिटल कम्युनिकेसन फाउन्डेसनले संयुक्त रूपमा सुरु गरेको शैक्षिक परियोजना हो । यो परियोजना नेपालका सीमान्तकृत समूहहरू, कम आय भएका समुदायहरू र आदिवासी जनजातिहरूलाई प्रेरणा, उत्प्रेरित र शैक्षिक सहयोग प्रदान गर्न समर्पित छ ।
यस परियोजनाको मुख्य लक्ष्य नेपाली जुनियर-उच्च विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा नेपालको तेस्रो १ यू क्यूबस्याट डिजाइन र निर्माण गर्न मद्दत गर्नु हो जबकि विश्वव्यापी एमेच्योर-रेडियो प्रयोगकर्ताहरूका लागि एमेच्योर रेडियो ब्यान्डहरूमा सफ्टवेयर-आधारित डिजिटल रिपीटर प्रणाली प्रदर्शन र प्रवर्द्धन गर्नु हो । नेपाली विद्यार्थीले बनाएको उपग्रह अन्तरिक्षको निर्धारित कक्षमा पुगेपछि प्रधानमन्त्री सुशिला कार्कीले नेपाली विद्यार्थीहरुलाई बधाई दिदै खुशी व्यक्त गरेकी छन् । उनले भनेकी छन्- नेपाली विद्यार्थीले बनाएको सानो आकारको भूउपग्रह चिनियाँ रकेट ‘लिजियान-१ वाई११’मार्फत अन्तरिक्षको निर्धारित कक्षमा पुगेको खबरले हर्षित बनाएको छ। सीमित स्रोतसाधनबीच चेपाङ समुदायका विद्यार्थीले गरेको यस प्रयासले थप युवालाई पनि विज्ञान-प्रविधिमा रुचि बढाउन प्रेरणा दिनेछ। सबैमा बधाइ ।’
कास स्पेसले अहिले कुल ३२ उपग्रह ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ, जसमध्ये २६ घरेलु र छ अन्तर्राष्ट्रिय छन् । यसको प्रक्षेपण-सेवा पदचिह्न चीन, युरोप, उत्तरी अमेरिका, दक्षिण एसिया, मध्य पूर्व, उत्तर अफ्रिका र अन्य देशहरू र क्षेत्रहरूमा फैलिएको छ । बुधबारको मिसनले लिजियान-१ को ११ औं कक्षीय उडानलाई चिन्हित गर्यो। रकेट मोडेलले ८४ उपग्रहहरूलाई अन्तरिक्षमा पुर्याएको छ जसको कुल इन-अर्बिट पेलोड द्रव्यमान ११ टन भन्दा बढी छ ।
२०- दक्षिण अफ्रिकाले भारतविरुद्धको जारी टी-२० सिरिजमा कमब्याक गरेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५१ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको २१४ रनको लक्ष्य पछाएको भारतले १९.१ ओभरमा अलआउट हुदै १६२ रन मात्र बनाएको थियो । भारतका लागि तिलक बर्माले सर्बाधिक ६२ रन बनाए भने जितेश शर्माले २७, अक्सर पटेलले २१ र हार्दिक पाण्डेयले २० रन बनाएका थिए ।
त्यस्तै दक्षिण अफ्रिकाका बलर ओटनेइल बार्टम्यानले ४ विकेट लिए भने लुंगी एंगीडी, मार्को जानसेन र लुठो सिपाम्लाले २-२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ४ विकेट गुमाउदै २१३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्वेंटन डिककले सर्बाधिक ९० रन बनाए भने डोनोभान फेरेइराले ३०, कप्तान एडेन मार्क्रमले २९ रन बनाएका थिए । यो जितपछि ५ खेलको सिरिज १-१ को बराबरी भएको छ । यस अघि सिरिजको पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल आईतबार धर्मशालामा खेल्ने तालिका रहेको छ ।
FACEBOOK COMMENTS