काठमाडौँ, श्रावण २७ – धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।
‘उहाँको १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको थियो । गएराति मृत्यु भयो ।’ उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहले जानकारी दिए । उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।
यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।
FACEBOOK COMMENTS