काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको नेपाली काँग्रेसको विशेष महाधिवेशनले नेपालको राजनीतिमा ठुलो महत्व राख्ने बताएका छन् ।
भुसालले काँग्रेस विशेष महाधिवेशनको बारेमा टिप्पणी गर्दै यो विशेष महाधिवेशन सफल भएमा काँग्रेस काँग्रेसकै बन्ने र यसले कम्युनिष्टहरु पनि कम्युनिष्ट कै हुन प्रेरित हुने बताएका छन् ।
भुसालले विशेष महाधिवेशनले नेपाली राजनीतिको मधुशाला भत्काउन सक्यो भने नेपाली राजनीतिको आजको गतिरोध तोड्न असाधारण योगदान गर्ने र बीच सडकमा दिन दहाडै भैरहेको तथाकथित विचारहरुको खुलेआम खरिदबिक्री रोकिने बताएका छन् ।
उनले भनेका छन् ’नेपाली काङ्ग्रेस कांग्रेसीहरु कै हुनु पथ्र्यो । कम्युनिष्ट पार्टी कम्युनिष्टहरु कै हुनु पथ्र्यो । तर लामो समयदेखि नेपाली काङ्ग्रेस काङ्ग्रेसीहरु भन्दा कमरेड ओली, प्रचण्ड र फेरि प्रधानमन्त्री/राष्ट्रपति हुने घिडघिडोमा बाँचेका नेताहरुलाई चाहिएको छ । कम्युनिष्ट पार्टी एमालेहरु र माओवादीहरुको भन्दा बढि श्रीमान् देउवा र उहाँको गुटका मानिसहरुको ज्युनीजस्तो भएको छ । कम्युनिष्ट पार्टीका नीतिहरुमा श्री देउवाजीको प्रभाव बढी हुन्छ । नेपाली काङ्ग्रेसले के गर्नु पर्छ भन्ने कुरा कमरेड ओली वा प्रचण्डहरुको स्वार्थबाट प्रभावित हुन्छ ।’
नेता भुसालले गगन थापा र विश्वप्रकाशहरुको नेतृत्वमा हुने नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन उनीहरुकै मामिला भएपनि उनीहरु सफल भएमा कम्तिमा दलाल पुँजीवादको संयुक्त कार्यालय विघटन हुने दाबि गरेका छन् ।

FACEBOOK COMMENTS