काठमाडौँ । नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने भएको छ ।
शुक्रबार पार्टी कार्यालय जाने तयारी गरेका सभापति गगन थापाले कार्यभार सम्हालेपछि केन्द्रीय समितिको बैठक बस्दै छ ।
सोहि बैठकबाट थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी काँग्रेसले गरेको हो । पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि थापा आफ्नो चुनावी क्षेत्र सर्लाही–४ मा जाने बताइएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि सभापति थापाले वारेसमार्फत सर्लाही–४ मा उम्मेदवारी दर्ता गराएका छन् । उनका प्रतिस्पर्धीका रूपमा कांग्रेसकै पूर्वनेता अमरेशकुमार सिंह छन् ।
सिंहले सो क्षेत्रमा यसअघिको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रबाट जितेका थिए । अहिले उनी रास्वपाबाट उम्मेदवार छन् । थापाका लागि सिंह चुनौतीपूर्ण उम्मेदवार भएको चर्चा भइरहेको छ ।

गत पुस ३० मा थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटलमा बसेको थियो ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमिति पार्टी कार्यालय जाने बातावरण बनेको हो ।

यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय जान नदिने भन्दै रातभर सानेपामै बसेका थिए ।

सभापति भएपछि पहिलो पटक कांग्रेस कार्यालय जाँदै गगन थापा
FACEBOOK COMMENTS