सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेका शेरबहादुर तामाङले सार्वजनिक पदमा बसेका सबै व्यक्तिहरूको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार तामाङले सार्वजनिक व्यक्तिको सम्पत्ति गोप्य रूपमा बुझाउने अभ्यास गलत भएको उल्लेख गर्दै जनताको निगरानीमा आउने गरी सम्पत्ति सार्वजनिक गर्नुपर्ने धारणा राखे । ‘सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्छ,’ उनले भने, ‘म संसदमा जाने उद्देश्य नै यस्ता कानुन निर्माण र त्यसको कार्यान्वयनका लागि लड्नु हो।’
उनले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी संरचना बलियो बनाइनुपर्नेमा जोड दिए । कमिसन व्यक्ति वा निजी खातामा होइन, राज्यको खातामा जाने व्यवस्था हुनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि विशेष कानुन आवश्यक रहेको बताए। ‘भ्रष्टाचार गर्न पाइँदैन, कमिसन खान पाइँदैन,’ उनले भने, ‘मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमै लाग्ने हो।’
उम्मेदवार तामाङले हाल विद्यमान खरिद ऐनकै कारण ठुलो मात्रामा भ्रष्टाचार हुने गरेको दाबी गर्दै सो ऐनमा तत्काल संशोधन आवश्यक रहेको बताउनुभएको छ। ‘कसैले भाषण गरेर मात्र भ्रष्टाचार अन्त्य हुँदैन,’ उनले भने, ‘त्यसका लागि स्पष्ट र कडा कानुन चाहिन्छ, र म त्यसका लागि निरन्तर लाग्छु।’
उनले भ्रष्टाचारविरुद्धको अभियानमा दलगत आग्रह–पूर्वाग्रह नरहने स्पष्ट पार्दै आफ्नै पार्टीका नेता वा कार्यकर्ताले समेत भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही हुनुपर्ने धारणा राखे । ‘मेरो पार्टीका नेताले पनि भ्रष्टाचार गरेको छ भने त्यसको कारबाहीका लागि सबैभन्दा अगाडि म नै उभिन्छु,’ उहाँले प्रतिबद्धता व्यक्त गरे ।

उम्मेदवार तामाङले सुशासन, पारदर्शिता र कानुनी शासनमार्फत मात्र जनताको विश्वास जित्न सकिने उल्लेख गर्दै सिन्धुपाल्चोक–२ का मतदातासँग भ्रष्टाचारविरुद्धको स्पष्ट एजेन्डामा साथ दिन आग्रह गरे ।

FACEBOOK COMMENTS