अन्तरराष्ट्रिय लगानी सहजीकरणका लागि बोर्डले तोक्यो आर्थिक कूटनीति सम्पर्क व्यक्ति
कर्पोरट खबर
9:38 pm, बिहीबार, माघ १५, २०८२
काठमाडौ । नेपालमा अन्तरराष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवद्र्धन गर्ने उद्देश्यले लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति (फोकल पर्सन) नियुक्त गरेको छ ।
लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिसँग समन्वय गर्दै नेपालमा लगानी भित्र्याउने कार्यमा सहजीकरण गर्नेछन् ।
साथै, नेपालमा लगानीसम्बन्धी विषयमा अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने, सूचना आदानप्रदान गर्ने तथा लगानी प्रक्रियामा देखिएका समस्याको समाधानमा भूमिका निर्वाह गर्नेछन् ।
केही समयअघि लगानी बोर्डको सहकार्यमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको बैठकमा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिले लगानीसम्बन्धी विषयमा सम्पर्क व्यक्तिको व्यवस्था भए लगानीको प्रवद्र्धन र सहजीकरणमा थप प्रभावकारी भूमिका खेल्न सकिने धारणा व्यक्त गरेका थिए । लगानी बोर्डले आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकिएको जानकारी परराष्ट्र मन्त्रालयलाई गराइसकेको छ ।
FACEBOOK COMMENTS