काठमाडौं । फ्रेन्ड्स अफ स्किल रोड क्लब नेपालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन, भूराजनीतिक अवस्थिति र लोकतान्त्रिक विकल्पबारे वृहत् संवाद कार्यक्रम आयोजना गरेको छ ।
गत शनिबार गौशालास्थिति होटेल बद्रीनाथमा आयोजित उक्त कार्यक्रममा नेपाल आज उभिएको राजनीतिक र भूराजनीतिक मोडबारे गम्भीर तथा बहुआयामिक बहस गरिएको थियो । देश निर्वाचनको चरणमा प्रवेश गरिरहेका बेला शासनको दिशा, लोकतान्त्रिक अभ्यास, नीतिगत निरन्तरता र बाह्य शक्ति सन्तुलनका विषय झन् संवेदनशील बन्दै गएको निष्कर्ष कार्यक्रमबाट निकालिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेल, नीति तथा अनुसन्धान प्रतिष्ठानका पूर्व अध्यक्ष डा. विष्णुराज उप्रेती, राजनीतिक विश्लेषक प्रा.डा. राजेन्द्र चापागाईं तथा बागमती प्रदेश सुशासन केन्द्रका पूर्व अध्यक्ष विमल पोखरेलले नेपालभित्रको आन्तरिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय भूराजनीतिक यथार्थबीचको अन्तरसम्बन्धबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका थिए ।
वक्ताहरूले नेपाल आफ्नो भौगोलिक अवस्थाका कारण दीर्घकालसम्म भूराजनीतिक दबाबको केन्द्रमा रहिरहने यथार्थ स्वीकार गर्दै त्यसलाई बुद्धिमत्तापूर्वक व्यवस्थापन गर्नु नै राष्ट्रिय हित हुने धारणा व्यक्त गरेका थिए । कुनै एक शक्ति केन्द्रतर्फ एकपक्षीय रूपमा ढल्किनु नेपालको हितमा नहुने भन्दै उनीहरूले सन्तुलित, स्वाभिमानी र राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति आजको अपरिहार्य आवश्यकता भएकोमा जोड दिए ।


कार्यक्रममा आन्तरिक राजनीतिक अस्थिरता, कमजोर संस्थागत संरचना र स्पष्ट रणनीतिक दृष्टिकोणको अभावले बाह्य दबाबलाई थप बल पुर्याइरहेको तथ्य पनि औँल्याइएको थियो । त्यसैले बलियो लोकतान्त्रिक अभ्यास, नीतिगत निरन्तरता र राष्ट्रिय सहमति नै भूराजनीतिक सन्तुलन कायम गर्ने मुख्य आधार भएकोमा वक्ताहरूले स्पष्ट गरेका थिए ।

कार्यक्रममा सहभागीहरू, विशेषगरी युवा पुस्ताले उठाएको प्रश्न र बहसहरूले राजनीति, निर्वाचन र भूराजनीतिलाई अब टाढाको विषय नभई आफ्नै भविष्यसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा बुझ्न थालेको सङ्केत गरेको थियो । सहभागीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त, आलोचनात्मक र विचारोत्तेजक बनाएको आयोजकले जनाएको छ ।

वक्ताहरूले आजको सन्दर्भमा यस्ता संवाद मञ्चहरू केवल बौद्धिक छलफलमा सीमित नरही राजनीतिक तथा भूराजनीतिक साक्षरता अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम बनेको चर्चा गरे । गलत सूचना, सतही राष्ट्रवाद र क्षणिक लोकप्रियताले नीति निर्माणमा प्रभाव पारिरहेको अवस्थामा, युवालाई तथ्य, इतिहास, शक्ति सन्तुलन र दीर्घकालीन राष्ट्रिय हितका आधारमा सोच्न सक्षम बनाउनु अत्यावश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

आयोजकले आगामी दिनहरूमा पनि यस्तै गहिरा, नीतिगत र जिम्मेवार संवाद कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता मञ्चमार्फत नेपाली राजनीति, भूराजनीति र नेपालको भविष्यबारे खुला, निर्भीक र अर्थपूर्ण बहसलाई अघि बढाइने बताएको छ ।
FACEBOOK COMMENTS