काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले प्रयोग गर्ने गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएपछि घटनालाई रास्वपाले गम्भीरताका साथ लिएको बताएको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै ४ वर्षीया अल्फा खातुनको दुर्घटनाबाट मृत्यु भएको घटनाबारे पार्टीले गम्भीरताका साथ लिएको बताएका हुन्।
‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ। यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं।’
महामन्त्री बुर्लाकोटीले कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने पार्टीले पहल गर्ने पनि बताएका छन्। त्यस्तै पीडित परिवारलाई राहत र सहयोगका लागि पहल भइरहेको पनि उनले बताए। उनले उम्मेदवारहरूलाई सवारीसाधन परिचालन गर्दा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पनि निर्देशन दिएका छन्।
बिहीबार दिउँसो इशनाथ नगरपालिका–४ मठिया टोलमा रास्वपा उम्मेदवार शेख सगिरको गाडीले ४ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। उक्त गाडी सगिरकै भएपनि दुर्घटना हुँदा आफू सवार नरहेको बताएका छन्।



FACEBOOK COMMENTS