काठमाडौँ । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्टि गर्ने अन्तिम म्याद असोज ३१ गतेसम्म तोकिएको छ।
विभागका अनुसार पाक्षिक रूपमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत २०८३ असोज १६ देखि ३१ गतेसम्मको अवधिमा जारी भएका खरिद बिलका आधारमा उपहार कुपन वितरण गरिनेछ। सो अवधिको उपहार कुपन कात्तिक १ गते खोली विजेता घोषणा गरिने विभागले जनाएको छ।
कार्यक्रममा सहभागी हुन तोकिएको अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले असोज ३१ गते शनिबारभित्र विभागको आधिकारिक पोर्टल https://prize.ird.gov.np/ मा गई खरिद बिलको विवरण प्रविष्टि गर्नुपर्नेछ। विवरण प्रविष्टिपछि उपभोक्ताले उपहार कुपन प्राप्त गर्न सक्नेछन्।
विभागले पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने स्पष्ट पार्दै वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ।
त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न विभागले अनुरोध गरेको छ।


