काठमाडौं, भदौ ३ म्युजिक भिडिओमा राष्ट्रिय झन्डा जलाउने समूहका चार सदस्य पक्राउ परेका छन्।
भदौ १ गते अपलोड गरिएको उक्त भिडिओ भाइरल भएपछि मंगलबार दिनभरि अपरेसनमा जुटेको महानगरीय अपराध महाशाखाले चार जना पक्राउ परिसकेको बतायो।
अन्य ६ जना व्यक्तिहरूको पहिचान भइसकेको र खोजी तीब्र पारिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताए।
‘हिजो दिनभर हाम्रो टोलीले काठमाडौंका विभिन्न ठाउँबाट चार जनालाई पक्राउ गरेको छ,’ थापाले भने, ‘थप ६ जना को हुन् सबै थाहा भइसकेको छ, खोजी भइरहेको छ।’

मंगलबार पक्राउ पर्ने एक युवती र तीन युवा छन्। तिनीहरूमा क्यामरामेन, भिडिओमा आवाज भर्ने, भिडिओ इडिट गर्ने र भिडिओ लिएर इडिटिङ गर्न जाने व्यक्ति समातिएको थापाले बताए।

थापाका अनुसार मुख्य अभिनयकर्ताहरू अहिले खोजीमा छन्। उक्त भिडिओ काठमाडौंमै इडिट गरेर युट्युबमा राखिएको पत्ता लागेको छ।

पक्राउ परेका चारै जना व्यक्तिमाथि अनुसन्धान थालिएको थापाले बताए।
यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङ हुन्। एक युट्युव च्यानलमार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडिओ छ।
झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको थियो। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका(३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिएको महाशाखाले जनाएको छ।